नयाँ शक्ति र संघीय समाजवादी फोरम एकीकरणको संघारमा

नयाँ शक्ति र संघीय समाजवादी फोरम एकीकरणको संघारमा


केन्द्रबिन्दु डेस्क । काठमाडौं, ८ साउन ।

आगामी साउन १५ गते पार्टी एकीकरणको क्रममा रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकीकरण प्रक्रियाले अन्तिम रूप लिँदै छ ।

एकीकरणको लागि दुवै पक्षबाट गठन भएको वार्ता टोलीले एकीकरणका लागि पार्टीका सिद्धान्त, विचार, नाम, झण्डा र चुनाव चिन्हको बारेमा समेत छलफल गरी दुवैतर्फबाट वार्ता समितिले आ–आफ्नो पार्टीलाई जानकारी गराइसकेको छ ।

नयाँ शक्ति पार्टीको स्रोतअनुसार, सो पार्टीका आर्थिक विभाग प्रमुख सुनिल खड्कासहित केन्द्रीय कार्यकारी समितिका ५० जना सदस्यले ‘यथास्थितिमा संघीय समाजवादी फोरमसँग एकता भए आफूहरु नमान्ने’ बताएका छन्।

पार्टी एकतापछि उपेन्द्र यादवलाई अध्यक्ष नमान्ने, एकीकृत पार्टीको नामबाट फोरम शब्द हटाउनुपर्ने र जबर्जस्ती एकता घोषणा गरे आफूहरु नयाँ पार्टीमा नगई नयाँ शक्तिमै बसेर काम गर्ने उनीहरुको सर्त छ।

एकीकरणको संघारमा रहेको नयाँ शक्ति नेपालका झन्डै ५० जना केन्द्रीय सदस्यले यस्तो सर्त राखेपछि भट्टराईले सोमबार र मंगलबार केन्द्रीय समिति बैठक डाकेका छन्।

एकतापछि पार्टीको नाम नयाँ शक्ति फोरम राख्ने निर्णय भएकोमा पनि केन्द्रीय सदस्यहरुले विरोध जनाएका छन्।

स्थानीय निकायको चुनावमा तालमेल गरेका यी दुई पार्टीबीच एकीकरणपछि उपेन्द्र यादव अध्यक्ष रहने, बाबुराम भट्टराई सर्वोच्च नेता रहने र अशोक राई वरिष्ठ नेता रहने सहमति भएको छ ।

सहमतिअनुसार पार्टी एकीकरणपछि झण्डा नयाँ शक्ति नेपालको हुने भएको छ भने चुनाव चिन्ह फोरम नेपालको हुनेछ । पार्टी नामको नाम टुगों लागेको छैन । दुईटा नाम प्रस्ताव भएको छ । नयाँ समाजवादी फोरम नेपाल र नयाँ संघीय समाजवादी पार्टी गरी दुई नाम प्रस्ताव गरिएको छ । यसमध्ये एउटा कुनै नाम रहने स्रोतले जनाएको छ ।

अब केही प्राविधिक कुरा मात्र टुगों लगाउन बाँकी छ जो अध्यक्षस्तरमा टुङ्गो लगाउने नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ ।

Logo