अब साना लगानीकर्तालाई प्यान नचाहिने

शेयरको कारोबार गर्न अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने ब्यबस्थामा सरकार लचिलो बनेको छ । लगानीकर्ताको चर्को विरोधपछि वैशाखदेखि अनिवार्य रुपमा प्यान लगाउने विषयमा नेपाल धितोपत्र बोर्ड लचिलो भएको हो ।

अब आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुले मात्रै स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसार दोस्रो बजारको कारोबारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने अपेक्षा विज्ञप्तिमा उल्लेख छ ।

अब ५ लाख भन्दा कम कारोबार गर्ने साना लगानीकर्ताले प्यान नम्बर लिनुपर्ने बाध्यता हटेको छ । बुधबारमात्र लगानीकर्ताले राजस्व सचिव लालशंकर घिमिरेलाई भेटेर प्यानको ब्यबस्था वैशाखदेखि अनिवार्य रुपमा लागु नगर्न आग्रह गरेका थिए ।