केपी ओलीको आरोप – “सत्तापक्ष अबुझ भयो”

केपी ओलीको आरोप – “सत्तापक्ष अबुझ भयो”


केन्द्रबिन्दु संवाददाता । ५ साउन, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकास/निर्माणको कामलाई बुझ्नै नसक्ने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले सरकारको ध्यान सत्ताको चरम दुरुपयोग गर्नमा मात्रै केन्द्रित रहेको आरोप पनि लगाउनु भयो । अध्यक्ष ओलीले विकास, निर्माण र परिवर्तनको भाषा बुझ्ने फुर्सद सरकार र सत्तारुढ गठबन्धनलाई नभएको टिप्पणी पनि गर्नु भयो । उहाँले सरकार लाभ प्राप्त हुने काम गर्न मात्रै तयार रहेको उल्लेख गर्नु भयो ।

अध्यक्ष ओलीले विकास निर्माणको कामलाई अघि बढाउन नदिन काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको दावी समेत गर्नु भयो । उहाँले मुलुकको सार्वभौमिकता र अखण्डता जस्तो विषयमा समेत सरकार गम्भिर बन्न नसकेको आरोप लगाउनु भयो । विहिबार पार्टी निकट नेपाल ट्रेड युनियन महासंघको ७ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अव जनता सचेत भएकाले विकास निर्माणको काम आफै अघि बढने विश्वास पनि व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले जनताको साझा प्रतिनिधि भएर काम गर्न पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन पनि दिनु भयो । उहाँले देश र जनताको हितमा विकास निर्माणको कामलाई अघि बढाउनु एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको मुख्य दायित्व भएको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष ओलीले श्रमिकहरुको हक/अधिकार र जवाफदेहिताको विषयमा ठोस धारणा तय गर्न पनि नेपाल ट्रेड युनियन महासंघका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

Logo