विद्यार्थी भिसामा विदेशिनेको लस्कर

विद्यार्थी भिसामा विदेशिनेको लस्कर


आशिष अर्याल । ५ साउन, काठमाडौं ।

नेपालमा दर्जनको हाराहारीमा विश्वविद्यालय छन् । त्यस मातहातका हजारौ‌ं क्याम्पस छन् । प्राविधिक शिक्षालयको पनि अभाव छैन । सीपमूलक ज्ञान आर्जनका लागि बग्रेल्ती इन्स्टिच्युटहरु छन् । तर, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विद्यार्थी भिसा’ च्यापेर देश छाड्न तयार युवाहरुको पंक्ति देख्दा लाग्छ, नेपालमा पढ्ने ठाउँ छैन ।

वर्षैपिच्छे ‘पढ्नका लागि’ विदेश सयर गर्नेहरुको लस्कर उदेगलाग्दो छ । किन त ?

जवाफ अनेकथरी छन् –
१. अन्तर्राष्ट्रिय डिग्री लिन ।
२. देशमा पढ्ने सिस्टम नै भएन । सबै लथालिंग छ ।
३. यहाँ पढेर करियर बन्दैन । सुरक्षित भविष्यका लागि पनि विदेश जानुपर्ने वाध्यता छ ।
४. नेपालको पढाई घोकन्ते र सैद्धान्तिक छ । डिग्री लिएर पनि काम पाइदैन ।
५. देशको हाल डामाडोल छ । राजनीति अस्थिर छ । विकास छैन । यस्तो देशमा बसेर कसरी पढ्ने ?
६. यसो देश पनि हेरौ, मुख पनि फेरौ भनेर ।
७. विदेशमा पढ्दै, पैसा पनि कमाउन सकिन्छ ।

कति बाहिरिन्छन् ?
एक वर्षमा एकाध विद्यार्थी विदेशिनु सामान्य हो । यद्यपी हामीकहाँ त्यसरी बाहिरिने विद्यार्थीको संख्या अधिक छ । वैदेशिक अध्ययनका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थीको चापले पनि यो कुरा पुष्टि हुन्छ ।

विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिनुपर्छ । यो भनेको, विदेशी शिक्षण संस्थामा अध्ययन गर्न राज्यले दिएको पूर्व स्वीकृति हो । पढाई खर्चबापत लाग्ने पैसा विदेशी मुद्रामा बैकिङ प्रणालीमार्फत सटही सुविधा प्राप्त गर्नका लागि समेत नो अब्जेक्सन लेटर चाहिन्छ ।

यसरी नो अब्जेक्सन लेटरका लागि आवेदन दिने बिद्यार्थीको संख्या ५० हजार भन्दा बढी छ, यसपाली । यसअघि यो पत्रका लागि यति धेरै आवेदन परेको थिएन । शिक्षा मन्त्रालयको अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५० हजार ६ सय ५९ जनाले नो अब्जेक्सन लेटर लगेका छन् । अघिल्लो वर्षको तुलनामा यो संख्या १८ हजार एक सय ७० बढी हो ।

आजको ६ वर्षअघिको तथ्यांक हेर्ने हो भने, त्यसवर्ष १० हजार बिद्यार्थीले नो अब्जेक्सन लेटर लगेको देखिन्छ । त्यसपछि बर्षेनी औसत ६ हजार जति विद्यार्थी क्रमश थपिँदै गएका छन् । आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७२/७३ सम्म त्यस्तो बढोत्तरी भएको छैन । वर्षेनी २ हजारको दरले बढेको देखिन्छ । तर, यसपाली भने एकै वर्षमा करिब २० हजार विद्यार्थी थपिएका छन् ।

विगतमा देशको राजनीति स्थिर थिएन । विकास निर्माणले गति लिएको थिएन । लोडसेडिङ, बन्द हड्तालले ग्रस्त बनाएको थियो । तर, पछिल्लो समय भने यावत् समस्या किनारा लाग्दै गएको छ । अधिकांश स्थानमा स्थानिय तहको निर्वाचन सम्पन्न भइसकेका छन् । देशको प्रशासनिक व्यवस्था चुस्त हुँदै गएको छ । भौतिक विकासले गति लिन थालेको छ । यद्यपी पढ्नका लागि विदेश जानेको लर्को उदेक लाग्दो छ ।

अष्ट्रेलिया पहिलो रोजाईमा
वैदेशिक शिक्षाका लागि नेपाली विद्यार्थीको प्रमुख तीन गन्तव्य थिए, अमेरिका, अष्ट्रेलिया र बेलायत ।

तर, पछिल्लो समय विद्यार्थीको गन्तव्य मोडिएका छन् । अहिले सर्वाधिक रोजाइमा अष्ट्रेलिया परेको छ । यसपाली जति विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन्, त्यसमध्ये आधा विद्यार्थीले अष्ट्रेलिया ताकेका छन् । अर्थात २४ हजार दुई सय ३३ विद्यार्थी अष्ट्रेलिया जाने तरखरमा छन् ।

अष्ट्रेलियापछि जापान
धेरैलाई लागेको हुनसक्छ अस्टे«लियापछि बेलायत र अमेरिका जानेहरुको संख्या ठूलो छ । तर त्यस्ता् होइन । यसपटक यी दुई देशभन्दा जापान पढ्न जानेको संख्या धेरै हुने देखिन्छ ।

यो आर्थिक वर्षमा जापानमा अध्ययन गर्नका लागि १० हजार बढीले नो अब्जेक्सन लेटर लगेका छन् । जबकी विगतका बर्षहरुमा अमेरिकाप्रति विद्यार्थीको क्रेज लोभलाग्दो थियो ।
डोनाल्ड ट्रम्प राष्ट्रपति चयन भएपछि अमेरिकाले विद्यार्थी भिसामा कडाइ गर्न थालेको छ । त्यसैले अमेरिका जाने संख्या निरन्तर पातलिँदै गएको छ ।

तेस्रो नम्बरमा रहेको अमेरिकामा अध्ययन गर्नका लागि यसपाली ३ हजार चार सय ८३ जना मात्र छन् । अमेरिकापछि बेलायत तथा भारत जाने विद्यार्थी बढी छन् ।
चीन, पोल्यान्ड, क्यानडा, बंगलादेश, जर्मनी र डेनमाक पढ्न जानेको संख्या पनि उत्तिकै छ।

कतिसम्म भने, गृहयुद्ध भइरहेको देशमा समेत पढ्नका लागि विद्यार्थी जाँदैछन् । पोल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया, बहमास, रिपब्लिक अफ होल्यान्ड, बेलरुस, युयना, स्लोभाकिया, श्रीलंका, साउदी अरेबिया जस्ता मुलुकमा पढ्नका लागि १–१ जाना विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका छन् ।

कहाँ कति खर्च ?
अध्ययनका लागि विदेश जानुपूर्व ठूलै आर्थिक जोहो गर्नुपर्छ । यद्यपी धेरै नेपाली विद्यार्थी कमाईको समेत प्रलोभनमा पर्ने भएकाले खर्च गर्न हच्किदैनन् । किनभने भिसा प्राप्त गर्नका लागि गरेको खर्च पूर्ति हुन्छ भन्नेमा उनीहरु ढुक्क देखिन्छन् ।

सामन्यत अष्ट्रेलियाका लागि भिसा आवेदन गर्दा करिब ४५ हजार रुपैयाँ शुल्क लाग्छ । अर्थात्, ५ सय ६० अष्ट्रेलिन डलर ।
त्यस्तै जापानका लागि दुई हजार नौ सय १० रुपैयाँ तिनुपर्छ, भिसा लागिसकेपछि । अमेरिकामा भिसा आवेदन शुल्क सहित करिब ५८ हजार रुपैयाँ खर्च हुन्छ । अर्थात ५ सय ६० डलर ।

कति पैसा बाहिरिन्छ ?
शिक्षाका लागि सरकारले वर्षेनी अर्बौ रुपैयाँ विनियोजन गर्छ । पठनपाठन, शिक्षामा सुधार लगायतमा विदेशी अनुदान पनि उत्तिकै आउँछ । तर उदेकलाग्दो त के भने, विदेशमा पढ्नका लागि नेपाली विद्यार्थीले अर्बौ रुपैयाँ खर्चन्छन् । वर्षेनी यस्तो ठूलो रकम विदेशिने गर्छ, पढाइको वाहानामा ।

यसपाली स्टुडेन्ट भिसाका लागि ५० हजारको हाराहारीमा विद्यार्थीले तयारी गरेका छन् । उनीहरुले भिसा आवेदनका लागि मात्र गरेको खर्च हिसाब गर्ने हो भने, अर्बौ हुन्छ । ५० हजार विद्यार्थीबाट भिसा आवेदनका लागि करिब डेढ अर्ब रुपैयाँ विदेशिनेछ ।

लर्निङ एन्ड अर्निङ
नेपाली विद्यार्थीहरु पढ्नका लागि मात्र विदेशिदैनन् । खासमा पढाइसँगै आयआर्जन गर्ने मोहले उनीहरुलाई विदेशले तानेको छ । वैदेशिक शिक्षाका लागि परामर्श दिइरहेका कन्सल्टेन्सी संचालकहरु हाकाहाकी भन्छन्, ‘विदेशमा जानुको उदेश्य भनेको पढाईसँगै कमाई गर्नु हो ।’

धेरैजसो मुलुकले विदेशी विद्यार्थीका लागि निश्चित अवधि काम गर्न छुट दिएको छ । यसरी काम गरेर ट्युसन फि तिर्ने मात्र होइन, घरखर्च जोहो गर्ने मनासय पनि धेरैमा देखिन्छ ।

ब्रेन ड्रेन कि ब्रेन गेन ?
विदेशमा गएर अन्तर्राष्ट्रिय डिग्री हासिल गरेर, सीप आर्जन गरेर कति विद्यार्थी नेपाल फर्कन्छन् ? यसको कुनै हिसाब किताब छैन । र, यस्तो हिसाब राख्ने प्रणाली पनि छैन । त्यसैले विदेशिने विद्यार्थीमध्ये उच्च शिक्षा आर्जन गरेर कति नेपाल फर्किए, उनीहरुले के कस्ता शैक्षिक परिवर्तन ल्याए भन्ने कुराको कुनै उदाहरण छैन ।

हुन ति विदेश अघि धेरैले दोहोर्‍‍याउने  वाक्य हो, ‘विदेशमा ज्ञान आर्जन गरेर स्वदेशमा त्यसको उपयोग गर्छु ।’ यस्तो वचन दिएर गएका विद्यार्थीहरु के नेपाल फर्केर आफुले आर्जन गरेको ज्ञान स्वदेशी माटोमा खर्चिएका छन् ? बहसको विषय हो ।

नेपाली समाजमा विदेशी मोह अचम्मलाग्दो छ । धनदौलत आर्जन गरिसकेपछि, शिक्षादिक्षा दिइसकेपछि ‘सुख’ खोज्दै विदेशिनेको संख्या ठूलो छ ।

Logo