सप्तरी बाढी पीडितहरूको सेवामा फेसबुके युवाहरू (भिडियो सहित)

सप्तरी बाढी पीडितहरूको सेवामा फेसबुके युवाहरू (भिडियो सहित)


केन्द्रबिन्दु संवाददाता । २ साउन, काठमाडौं ।

सप्तरीका बाढी पीडितहरुलाई सहयोग गर्न भन्दै सामाजिक सञ्जालमा आबद्ध युवाहरुले विविध कार्यक्रम गरेर अर्थ संकलन गरेका छन् । गत साता बसन्तपुरमा उनीहरुले यस्तो नमूना पेश गरे, जो अनुकरणिय लाग्थ्यो ।

आजकल सामाजिक सञ्जाल (फेसबुक) मा थुप्रै नयाँ–नयाँ ग्रुपहरू बन्दै गरेका देखिन्छन् । त्यस्तै ग्रुपमध्ये ‘युनाइटेड युथ फर नेशन’ भन्ने फेसबुक ग्रुपले नेतृत्व गरेर पानी पुरी र चटपटे इभेन्ट भनेर उनीहरुले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पानी पुरी र चटपटे बेच्ने मात्र नभएर लाइभ म्युजिक प्रोग्राम पनि राखिएको थियो । उनीहरूले गीत गाएर मनोरन्जन दिनुका साथै जम्मा भएको भिडसँग बाढी पीडितको सहयोगका लागि डोनेशन बक्स लिएर पैसा कलेक्ट पनि गर्दै थिए ।
सप्तरीमा केही दिन पहिले गएको बाढीमा करिब १५०० वटा घर डुबेका थिए र कयौं मानिसको उठिबास भएको थियो । सरकारले बाढीबाट पीडित प्रत्येक परिवारलाई सुरु राहत रकम २५,००० रुपैयाँ दिने घोषणा गरेको छ तापनि युवाहरू थप सहयोग जुटाउन कस्सिएका छन् । उनीहरू यस्तै कार्यक्रम गरेर सहयोग जुटाउँदै छन् । त्यही सहयोग जुटाउने क्रममा यी युवाहरूले यस किसिमका कार्यक्रम आयोजना गर्दै आएका छन् । पहिले पहिले पनि यस्तै सामाजिक कार्यहरू गरिसकेको यो ग्रुपले आगामी समयमा समेत यस्ता काम गरिरहने ग्रुपमा आबद्ध युवाहरूले बताए ।
देशको कर्णधार भएर हात थाप्नुभन्दा बरु आफैले केही समय दिने, केही सिर्जनात्मक काम गर्ने र त्यसबाट जुटेको रकमबाट बाढी पीडितहरूलाई सहयोग गर्ने धारणा यस ग्रुपका फाउन्डर युवा विशाल सापकोटा व्यक्त गर्छन् ।

यो इभेन्टलाई GRR, WRR, MTR, WOMEN’S WARRIOR, SAYA, BRAHMIN’S SAMUHA, NMWRR, MWRR, DARI GYANG लगायतका फेसबुक गु्रपले पनि सहयोग गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकबाट यस्ता थुप्रै ग्रुपहरू अहिले सप्तरी बचाऊ, बाढी पीडितलाई जोगाऊ अभियानमा लागेका छन् ।

Logo