‘प्रचण्ड मेरो चेला होइन’

‘प्रचण्ड मेरो चेला होइन’


मोहनविक्रम सिंह, ८२, लाई धेरैले कम्युनिस्टहरूका गुरु मान्दछन् । तर उनी भने आफू कसैको गुरु नभएको जिकिर गर्छन् ।

देशमा अहिले उदार संघीय गणतान्त्रिक राजनीतिक व्यवस्था कायम छ तर नेकपा (मसाल) का महामन्त्रीसमेत रहेका मोहनविक्रम खुला राजनीतिमा छैनन् । उनी अर्ध–भूमिगत जीवन गुजारिरहेका छन् । राजनीति र साहित्यका गरी डेढ दर्जनभन्दा बढी पुस्तक लेखिसकेका उनी अझै पनि राजनीति र लेखनमा उत्तिकै सक्रिय छन् ।

अनेक कम्युनिस्ट नेताहरूले नेपाली राजनीतिमा आफूलाई बलियो गरी स्थापित गराएका छन् र अझै सक्रिय छन् । मोहनविक्रम सिंह त्यस्ता धेरै कम्युनिस्टहरूका राजनीतिक गुरु मानिन्छन् । सिंहलाई आम रूपले ‘अर्थोडक्स कम्युनिस्ट’ अर्थात् व्यवहारभन्दा सिद्धान्तमा बल दिने नेता मानिन्छ । नेपालमा रहेका कम्युनिस्ट सिद्धान्तका दुर्लभ जानकारमध्ये एक उनै सिंहसँग ‘गुरुपूर्णिमा’का अवसरमा केन्द्रबिन्दु डट कमका लागि बिदुर खतिवडादिवस गुरागाईंले गरेको कुराकानीका अंश–

तपाईंलाई नेपालका धेरै कम्युनिस्ट नेताहरूको गुरु भनिन्छ नि ?
– कम्युनिस्ट पार्टीभित्र गुरु–चेला भन्ने हुन्छ र ? हाम्रो पार्टीमा यस्तो भनिँदैन । भनिन्छ भने त्यो गलत हो ।

तपाईंले कम्युनिस्ट बनाएकाहरू त धेरै छन् नि होइन ?
– यो प्रश्न पनि त्यति सही छैन । मैले कसैलाई व्यक्तिगत रूपमा कम्युनिस्ट बनाएको छैन । मात्रै पार्टीले बनाउँछ ।

तपाईंले सपथ खुवाएकाहरू त धेरै छन् होला नि ?
– हाम्रो पार्टीमा सपथ खुवाउने गरिँदैन । अन्य बुर्जुवा पार्टीमा जस्तो सदस्यता वितरण गर्ने चलन पनि हामीकहाँ छैन । हाम्रो पार्टीमा ‘उम्दा सदस्य’का रूपमा काम सुरु गरिन्छ । कामको आधारमा जिम्मेवारी दिइन्छ ।

तपाईं हरेक विषयमा पार्टी जोड्दै हुनुहुन्छ, तर पार्टी भनेको मोहनविक्रम सिंह र मोहनविक्रम सिंह भनेको पार्टी हो भनिन्छ नि ?
– यो सही आरोप होइन । मलाई पार्टीले स्पष्टीकरण सोधेको छ । कारवाही गरेको छ । निष्कासन गरेको छ । हाम्रो पार्टीभित्र पार्टीको निर्णय नै मुख्य हुन्छ । पार्टीभन्दा माथि वा समान रूपमा कोही हुँदैन । म नै पार्टी भएको भए मलाई नै कारवाही हुन्नथ्यो होला ।

तपाईंको पार्टीले नै सही, धेरै नेता–कार्यकर्ता त जन्माएको छ नि ?
– हो, हाम्रो पार्टीमा धेरै नेताहरू हुनुहुन्छ । जो स्वभाविक पनि छ । धेरै नेताहरूले पार्टी छोड्नु पनि भएको छ ।

तपाईंको पार्टी छोडेर धेरैले अग्लो राजनीतिक कद बनाएका छन्, मान्नुहुन्छ ?
– आफ्नो करिअर (व्यक्तित्व विकास) बनाउने नाममा धेरै साथीहरू बाहिरिनुभएको छ । जस्तो– मरिचमान सिंह (पूर्व प्रधानमन्त्री) । उहाँ पनि २०१३ सालमा हाम्रो पार्टीको उम्दा सदस्यका रूपमा हुनुहुन्थ्यो । पछि पञ्चायत प्रवेश गर्नुभयो । मलाई लाग्छ, उहाँले सिद्धान्त हेरेर पञ्चायत प्रवेश गरेको होइन । तर अर्कोखाले साथीहरू हुनुहुन्छ जो विचार नमिलेर पार्टीभित्र रहनुभएन ।

तपाईंको पार्टी छोडेर को–को बाहिरिनुभएको छ ?
– तत्कालीन अञ्चलाधीश, मन्त्रीहरू…उच्च ओहदामा पुगेका धेरै हुनुहुन्थ्यो र हुनुहुन्छ पनि ।

पार्टी छोडेर अन्य कम्युनिस्ट पार्टीमा गएकाहरू ?
– धेरै हुनुहुन्छ । मोहन वैद्य, प्रचण्ड, बाबुराम, बादल, नारायणकाजी, लीलामणि, मोहनचन्द्रलगायतका नेताहरू ।

सम्झिन सक्नुहुन्छ भने अरूको पनि नाम लिनुस् न ?
– देव गुरुङ, पम्फा भूसाल, गिरिराजमणि, महराजीलगायत धेरै हुनुहुन्छ ।

तपाईंको पार्टीमा किन टिक्न सक्दैनन् नेताहरू ?
– यो उहाँहरूको स्वतन्त्रताको विषय पनि हो । एजेन्डा मिलेन भने एकै ठाउँ बस्नुको अर्थ के हुन्छ र ? जब विचार मिल्दैन, सोच मिल्दैन भने भिन्न भएकै राम्रो हुन्छ ।

तपाईंहरूको स्कुलिङ सही नभएकै कारण पार्टी खुम्चिँदै गएको मान्नुहुन्छ ?
– हामीले गरेका दूरगामी असर पार्ने निर्णय कहिल्यै गलत छैनन् । संविधान सभाकै कुरा गरौँ । एउटा समयमा पुगेपछि विपी, टंकप्रसाद, केआई सिंहलगायत सबैले यो एजेन्डा छोड्नुभयो । तर हामीले कहिल्यै छोडेनौँ । आखिरमा संविधान सभा भइछाड्यो । यतिबेला हामी संविधान संशोधनको विपक्षमा छौँ । संशोधन देशको पक्षमा छैन भन्ने हाम्रो ठहर हो ।

तपाईंकै पार्टी छोडेर सशस्त्र संघर्षको नेतृत्व गर्ने प्रचण्डहरूकै बलमा संविधान सभा सम्भव भएको होइन र ?
– उहाँहरूको कुरा संविधान सभासँग मात्र जोडिएको थिएन । उहाँहरू जातिवादी कुरा गर्न थाल्नुभयो । देशलाई जातीय आधारमा विभाजन गर्ने कुरामा हाम्रो सधैँ विमति रह्यो ।

तर, राजनीतिको नेतृत्व गर्न त सफल हुनुभयो नि उहाँहरू ? तपाईंहरूको संघर्षको प्रश्न पनि राज्यसत्तासँग त जोडिन्छ नि होइन र ?
– हो, हामी पनि सरकारमा जान हुँदैन भन्ने पक्षमा छैनौँ । तर सबै कुरा बिर्सेर, देश टुक्रयाउने एजेन्डा लिएर होइन ।

पार्टी छोडेर गएका कुनै पनि नेताहरूसँग यहाँको स्वभाविक रूपमा विचार मिल्दैन । तर पनि बजारमा किन तपाईंलाई नै गुरु भनिएको होला ?
– बजारमा धेरै किसिमका भ्रम छरिएका हुन्छन् । यो पनि एउटा भ्रम हो किनभने म न त कसैको गुरु हुँ, न त मेरा चेला छन् ।

तपाईंलाई कम्युनिस्टहरूका गुरु भनेर नाम चलेका नेताहरूले भाषण गरेको सुन्नु भएको छैन ?
– सुनेको छु । तर यसमा सत्यता छैन । कम्युनिस्ट पार्टीमा गुरु र चेला भन्ने हुँदैन । उहाँहरू किन यसो भन्नुहुन्छ, म बुझ्दिन ।

तपाईंलाई प्रचण्डले समेत गुरु भनेर सम्बोधन गर्नुभएको छ ?
– उहाँले किन त्यसो भन्नुभयो, मलाई थाहा छैन । तर म प्रचण्डको गुरु होइन । उहाँ (प्रचण्ड) पनि मेरो चेला होइन ।

तपाईंलाई भेट्न प्रचण्ड आउनुहुन्छ ?
– दुई–तीन महिना अघि बिरामी भएर म अस्पताल पर्दा प्रचण्ड, बाबुराम, महरालगायतका नेताहरू भेट्न आउनुभएको थियो । यसबाहेक खासै आइजाइ छैन ।

तपाईंलाई पनि उहाँहरूसँग भेट्घाट गर्न मन लाग्दैन ?
– संविधान घोषणा भए पछि म प्रचण्डलाई बधाई दिन गएको थिएँ । त्यत्ति नै हो । काम नभई भेटघाट गरिरहनुको के अर्थ हुन्छ र ?

भनेपछि प्रचण्ड–बाबुरामहरूसँग तपाईंको भेटघाट हुँदैन ?
– भेटौँ भनेर भेट भइरहेको छैन । धेरैजसो भेट आर्यघाटमा भइरहेको हुन्छ । पार्टीका नेता तथा कार्यकर्ताको मृत्यु भएपछि जाइन्छ, उहाँहरू पनि आइरहनुभएको हुन्छ । जम्काभेट शैलीमा भेट हुन्छ ।

 

Logo