जो जित्नासाथ चर्चित भए

जो जित्नासाथ चर्चित भए


२२ वर्षकी शिवकुमारी चौधरी
काठमाडौंमा रञ्जु दर्शनाको चर्चा जति छ, त्यति नै चर्चित छिन्, कपिवस्तु र पश्चिमी क्षेत्रमा २२ वर्षीया शिवकुमारी चौधरी । शिवनगर नगरपालिकाको उपमेयरमा विजयी भएपछि उनको चर्चा चुलिएको हो ।

चौधरीले ५ हजार ९ सय ६३ मत ल्याएर उपमेयर जितिन् । उनकी निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरमकी सुमन यादवलाई २९३३ मतान्तरले हराएबाटै प्रस्ट भएको छ उनको लोकप्रियता समेत । उनी यसअघि नै आफ्नो भाषणका कारण चर्चामा थिइन् ।

यसबाहेक समाजिक क्षेत्रमा समेत सक्रिय चौधरी मिडियामा समेत आबद्ध थिइन् । उनले कपिलवस्तुकै रेडियो समानतामा थारु भाषाको कार्यक्रम चलाएकि थिइन् । आफ्नो सटिक प्रस्तुति र कर्णप्रिय आवाजका कारण उनले सबैलाई मोहित बनाएकी थिइन् । त्यसैले चौधरीलाई निर्वाचनमा धेरै भोट प्राप्त भयो ।

नेपाल आदर्श उच्च माध्यमिक विद्यालयमा बिएड तेस्रो वर्षमा पढ्दै गरेकी चौधरीले उपमेयर बनेपछि पढाई छुट्छ कि भन्ने चिन्ता लागेको प्रतिक्रिया दिएकी छिन् । एमएडसम्म पढ्ने आफ्नो धोको रहेको उनले सुनाएकी छिन् ।

 

धवल शम्शेर राणा
पहिलो चरणको निर्वाचनमा एउटा गाउँपालिका मात्रै जितेको राप्रपाले यसपटक उपमहानगर जित्छ भन्ने कमैको अनुमान थियो । तर अनुमान गलत साबित गर्दै डा धवल शम्शेर राणा मेयर निर्वाचित भए, नेपालगञ्ज उपमहानगरपालिकावाट । त्यसैले नै हो, यतिवेला उनको चर्चा चुलिएको छ ।

यसअघि २०५४ सालमा एमालेबाट नेपालगन्ज नगरपालिकाको मेयर बनेका धवल शम्शेर त्यसपछि पार्टी परिवर्तन गर्दै राप्रपा प्रवेश गरेका थिए । उनले संविधानसभा निर्वाचनमा २ पटक राप्रपाबाट बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएपनि जित हासिल गरेनन् ।

दोस्रो स्थानमा आएका कांग्रेसका डा सुरेश कुमार कनोडिया धवलभन्दा ३ हजार मतले पछि परे ।

 

चिट्ठाले खोलेको भाग्य
कमल गाउँपालिका अध्यक्षका लागि भएको प्रतिस्पर्धामा दुई प्रतिद्वन्द्वीको समान ८ हजार २ सय ७५ मत आयो । एमालेकी मेनुका काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईको समान मत आएपछि गोलाप्रथाबाट काफ्ले अध्यक्ष चयन भइन् । उनी नम्बर १ कै पहिलो महिला प्रमुख हुन् ।

दुवै उम्मेदवारले बराबरी मत पाएकाले आगामी दिनमा पनि सहकार्य गरेरै अघि बढ्ने बताएकी छिन् । ‘हामी दुवैलाई जनताले बराबर मत दिएका छन् । भाग्यले मैले जितें । तर, काम गर्ने सवालमा उहाँ हुकुमसिंहसँग सहकार्य गरेरै अघि बढ्छु,’ उनले भनिन् ।

 

दीपायल–सिलगढी नगरपालिकाकी मञ्जु मलासी
मञ्जु तिनै महिला हुन् जसले नगर सरसफाइको माग राख्दै डेढ वर्षअघि दीपायल–सिलगढी नगरप्रमुखको कुर्सीमा फोहर फ्याँकेकी थिइन् । अहिले उनी त्यही कुर्सीमा विराजमान छिन् ।

एमालेबाट उम्मेदवार रहेकी उनी ४४१८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनी ७ नं प्रदेशकी एक्लो महिला मेयर हुन् । दीपायल–सिलगढीलाई सुशासनको नमूना शहर बनाउने उनको योजना छ । आफ्नो योजना पूरा गर्न रातदिन खट्ने उनले बताइन् ।

 

२ पार्टीबाट धोका, त्यसपछि स्वतन्त्रबाटै मेयरमा विजयी
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मेयर निर्वाचित रजतप्रताप शाह संघीय समाजवादी फोरमका पूर्वनेता हुन् । तर उनलाई चुनावमा पार्टीले पत्याएन । त्यसपछि उनी फोरम लोकतान्त्रिक छिरे । सुरुमा फोरम लोकतान्त्रिकले उनलाई उम्मेदवार बनाउने वचन दिएको थियो । तर अन्तिम समयमा धोका भयो । शाहले हरेश खाएनन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिए ।

उनी ४ हजार १ सयभन्दा बढी मतान्तरले विजयी भए । उनले ७ हजार ३ सय २८ मत ल्याए । तेस्रो स्थानमा आएका माओवादीका शिवप्रसाद कलवारको ३ हजार २ सय ५ मत आयो । उनी यसअघि आबद्ध पार्टी संघीय समाजवादी र फोरम लोकतान्त्रिकका उम्मेदवार नराम्रोसँग पराजित भए । स्थानीय चुनावमा पार्टीका मान्छेले होइन राम्रो छवि भएका मान्छेले जित्छन् भन्ने कृष्णनगरवासीले देखाइदिए ।

Logo