नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम आज पनि जारी

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम आज पनि जारी


काठमाडौं ।

आश्विन शुक्ल द्वादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने क्रम विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तो छैन । नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ ।

कोरोनाकै कारण यस वर्ष दशैँ मनाउन राजधानी बाहिर जाने पनि कम नै देखिए । सडकमा विगत वर्षका जति सवारी गुडेनन् । एउटै परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन शुरु गरिएको शास्त्रीय मान्यता छ ।

Logo