‘रत्नपार्कमा बेश्याबृत्ति गर्ने सवै समलिंगी–तेस्रोलिंगी मात्र होइनन्’

‘रत्नपार्कमा बेश्याबृत्ति गर्ने सवै समलिंगी–तेस्रोलिंगी मात्र होइनन्’


बद्री पुन, सामाजिक अभियन्ता

जन्मिदा महिला तर हाउभाउ र चाहानाले पुरुष हुन् – बद्री पुन । एलवीटी (लेस्वियन वाइ सेक्सुअल ट्रान्जेन्डर) को अधिकारकोलागी अहोरात्र लागिपरेका बद्री को न्वारानको नाम डिलु बुदुजा हो । उनी राजनीतिसँग पनि नजिक छन् । एमाले म्याग्दी सम्पर्क मञ्चका सचिव बद्री खासगरी अधिकारकर्मी हुन् आफ्नै समूदायको ।

समावेशी मञ्च नेपालका अध्यक्ष समेत रहेका उनी खासगरी एलवीटी (लेस्वियन वाइ सेक्सुअल ट्रान्जेन्डर) को अधिकारकोलागी सक्रिय छन् । आफूलाई ‘मेल’ टु ‘फिमेल’ भन्न रुचाउने उनै बद्री पुनसँग प्रस्तुत छ, गरिएको कुराकानीको सार संक्षेप ।

तपाईंको खास परिचय के हो ?
– म एउटा मानव हुँ । बद्री पुन हुँ । यो देशको नागरिक हुँ । ‘थर्डजेन्डर’ हुँ ।

‘थर्डजेन्डर’ भनेको कस्तो हो ?
– बुझ्ने भाषामा भन्नुपर्दा ‘फिमेल’ टु ‘मेल’ हुँ ।

को–को छन् परिवारमा ?
– आमा, भाउजू, दाईको परिवार हुनुहुन्छ । म चाहिं एक्लै छु ।

किन एक्लै ?
– राज्यले एक्लै बस् भन्यो त्यसैले एक्लै ।

राज्यले के गरो भने दुक्लै हुनुहुन्छ ?
– दाम्पत्य जीवनको पुरानो संरचना भत्काउनु पर्छ । जोसँग बसेर खुसी हुँइन्छ त्यहीसँग बस्न पाउनु पर्छ । यस्तो भयो भने म दुक्लै हुनसक्छु ।

तपाईंले भनेको अलि बुझिएन !
– म जन्मदा ‘फिमेल’ हो । अहिले पुरुष हुँ । समाजको पुरानो चलन अनुसार मैले ‘मेल’सँग विवाह गर्नु पर्छ । जो म चाहान्न । म महिलासँग नै खुसी हुन्छु भने किन जर्वजस्ती पुरुषसँग विवाह गरु ? हाम्रो वारेमा राज्यले यथार्थ अनुभुत गरेर कानुन बनाउनु पर्छ ।

तपाईंको खास नाम चाहिं के हो ?
– मेरो न्वारानको नाम डिलु बुदुजा हो । पछि मैले मेरो नाम बद्री राखें । अहिले म बद्री भनेर चिनिन्छु ।

‘बद्री’ चाहिं कसरी हुनुभयो ?
– संघर्षको नाम हो, बद्री । टिपिकल, गाउँले नाम खोज्दा बद्री नाम उपयुक्त लाग्यो । म मात्र होइन अरु धेरै साथीले नाम परिवर्तन गरेर आफू अनुकुल बनाउनु भएको छ ।

नागरिकता चाहिं कुन नामले लिनु भयो ?
– ०६९ मा नागरिकता लिएँ । बाऊले राखेको नाम हो, चेन्ज नगर भनेर आमाले भनेपछि पुरानै नाम राखें । आमाको कुरा काट्न सकिनँ ।

मान्छे कसरी समलिंगी–तेस्रोलिंगी हुन्छ बुझाइदिनुस् न !
– कसैले बनाएर समलिंगी–तेस्रोलिंगी हुने होइन । यो सवै प्रकृतिले नै बनाउँछ ।

समलिंगी वा तेस्रोलिंगी मान्छेलाई कसरी चिन्ने ?
– मैले सारी लगाएर आएपनि मलाई पुरुष जस्तो देख्नु हुन्छ । मेरो हाउभाउ पुरुष जस्तो छ । त्यसकारण चिन्ने भनेको हाउभाउले हो । हामी त एक हेराइमा नै चिन्छौं ।

तपाईलाई समलिंगी भन्ने कि तेस्रोलिंगी ?
– ‘ट्रान्जेन्डर’ भनेर बुझ्दा सही हुन्छ । मलाई ‘ट्रान्जेन्डर’ भन्दा खुसी पनि लाग्छ । किनभने मेरो परिचय नै यही हो ।

तेस्रोलिंगी–समलिंगीहरुको मुल पेशा के हो ?
– क्षमता हुनेले जुन पेशा गर्छ त्यही हो । हाम्रो बेग्लै पेशा हुँदैन र छैन ।

यौनकर्मीको रुपमा बढी सक्रिय देखिन्छन् नि ?
यौनकर्मी पनि छन् । पेटको आगो निभाउनकोलागी कोही–कोही त्यतापनि लागेका होलान् । तर, डेढ–दुई सय त्यतालागे भन्दैमा सवैलाई मुस्न मिल्दैन । रत्नपार्कमा बेश्याबृत्ति गर्ने सवै समलिंगी–तेस्रोलिंगी मात्र होइनन् ।

तपाईंहरुले बच्चा पाउनु पर्दैन ?
– हो, हामीवाट सृष्टि हुँदैन । तर, ‘एडप्ट’ त गर्न सक्छौं नि !

भनेपछि तपाईंहरुकोलागी अरुले बच्चा पाइदिनु पर्ने ?
– तपाईंले तथ्य हेर्नुभयो भने बर्षमा कतिले ‘एभर्सन’ गर्छन् ? कतिले बच्चा छोडेर भाग्छन् ? कतिले बच्चालाई पाल्न नसकेर जीवननै अमिलो बनाउँछन् । सरकारले ‘एडप्ट’ को अधिकार सुनिश्चित गरिदिने हो भने ती तमाम समस्याको समाधान हाम्रै समूदायले गरिदिन्छ ।

कतिपयले समलिंगी–तेस्रोलिंगी हुनुलाई रोग हो भनेर पनि बुझेका छन् ?
– नबुझेकाहरुको कुरा हो त्यो । तर त्यो दोष हाम्रो पनि हो, जसलाई हामीले बुझाउन सकेका छैनौं । मैले अघि नै भनेनि, यो प्राकृतिक हो । तर यहाँ बुझेर पनि नबुझे जस्तो गर्नेहरु पनि उत्तिकै छन् ।

भनेपछि यो समूदायको परिवार कस्तो हुन्छ ?
– बृद्ध हुँदै जाँदा साथीको आवश्यकता हुन्छ । सरकारले यस्तो ब्यवस्थाकोलागी कानुन बनाउनु पर्छ । हामीलाई लक्षित गरेर परिवारको ढाँचा बनेको छैन, बृद्धाश्रम बनेका छैनन्, समाज छैन । त्यो सवैभएपछि आम परिवार जस्तै हुन्छ, हाम्रो परिवार पनि ।

कसरी ?
– सवैलाई कोटा छ, तर हामीलाई छैन । राज्यले त्यो ब्यवस्था गर्नु पर्छ । घर, स्कूल, कलेज सवैतिरवाट निकाल्ने अनि कतै क्षतिपूर्तिको ब्यवस्था नगर्ने । त्यस्तो विभेद भएपछि हाम्रो समूदायले दुख पाउनु स्वभाविक हो ।

तपाईंहरुलाई हिजडा पनि भन्छन् नि ?
– नेपालमा हिजडा भन्नुपर्नेगरी कुनै समूदाय नै छैन । ‘डोमिनेट’ गर्ने सवालमा यो शब्द प्रयोग गरिन्छ । भारतवाट आएको यो शब्दको सिको नेपालमा गरिएको हो । हामी कहाँ तेस्रोलिंगी, समलिंगी भन्ने चलन हो ।

तपाईंहरुलाई समाजले चाहिं के भन्छ ?
– समाजले पनि धेरै कुरा बुझ्न बाँकी छ । समलिंगी–तेस्रोलिंगी भयो भने खत्तम हुन्छ भन्ने सोच छ । अझै पनि रुवाबासीको अवस्था छ ।

समाजको नजर केही त सुधारिएको होला ?
– केही न केही सुध्रिएकै छ । तर संतोषजनक छैन ।

कानुनी रुपमा त धेरै प्राप्त भइसक्यो नि होइन ?
– एउटा नागरिकता वाहेक केही प्राप्त भएको छैन । सरकार र कानुनले सम्मान नगरुञ्जेलसम्म समाजले पनि गर्दैन । सर्वोच्च अदालतको सोच र कामको भने हामी तारिफ गर्छौं ।

कानुनी रुपमा तपाईंहरुको अपेक्षा के छ ?
– विवाहलाई बैधता दिनु परो । ‘चाएल्ड एडप्ट’ गर्ने अधिकार सुनिश्चित गर्नु परो । समानुपातिक हिसावमा हाम्रो समूदायलाई पनि कोटाको ब्यवस्था गर्नु परो । जस्ता धेरै अधिकार पाउनवाट हामी बञ्चित छौं ।

यो देशमा कति छन् समलिंगी र तेस्रोलिंगी ?
– हामी जनसंख्याको ८ प्रतिसत छौं । २००१ देखि हामीले गरेको खोज अनुसंधानले यही भन्छ । यस हिसाववाट हाम्रो संख्या २२ लाख हुन आउँछ । विभिन्न किसिमका डरले उहाँहरु खुल्न सक्नु भएको छैन । तर सरकारले अधिकार सुनिश्चित गर्ने हो भने ३ लाखभन्दा बढी त तत्कालै खुल्ने अवस्था आउँछ ।

यत्रोविधी समलिंगी–तेस्रोलिंगी कहाँ छन् त ?
– सेना र पुलिसमा ठूलो संख्यामा छन् । समाजका अन्य ठाऊँमा खास परिचय छोपेर प्रतिष्ठित ढंगले जीवन निर्वाह गरिरहेका छन् । समाजका हरेक तह र तप्कामा लुकेर वसेका छन् ।

राजनीति रुपमा यो समुदाय कहाँ छ ?
– लथालिंग छ । सवै आ–आफ्नो पार्टीमा छन् । तर, हैसियत बढाउने वा स्थापित हुने अवस्था देखिन्न । पार्टीहरुले पत्याएका छैनन् ।

अव के गर्ने ?
हामी कर्तब्यनिष्ट नागरिक हौं । देशले घर वसाइदिने अवस्था सृजना गर्नुपर्छ । हरेक कुरा राज्यवाट संभव छ । सामाजिक सुरक्षा छैन । हामी कुनै दल, भूगोल र जातमा सीमित छैनौं । हामी कराइरहेका छौं, राज्य कानमा तेल हालेर बसेको छ । यिनै गतिविधी सुधारकालागी सकेको काम गरिरहेका छौं र गरिनै पनि रहकाछौं ।

राजनीतिक दलहरुलाई केही भन्नु छ ?
– लज्जीत हुनुहोस् र कर्तब्यनिष्ट रहनुहोस् भन्छु । देश वनाउन चाहेको हो भने सत्यवादी हुन जरुरी छ ।

समाज र परिवारलाई केही भन्नुछ ?
– हरेक मानवताका गतिविधीलाई पचाउन सिक भन्छु समाजलाई । परिवार त समाजसँग डराएर ब्यवहार गर्छ । उनीहरुलाई के भन्नु र ?

समस्त तेस्रोलिंगी समलिंगीहरुलाई केही भन्नु छ ?
निस्वार्थ भावले कर्तब्यनिष्ट र इमान्दार भएर अधिकार खोज्न निस्कनु परो । साँचै अधिकार चाहिएको हो भने कसैको इसारा, एनजीओको भाषा र निर्देशनभन्दा माथि उठ्न सिक ।

गुनासो चाहिं को प्रति छ तपाईंहरुको ?
– मानवअधिकारकर्मी भनेर साइनबोर्ड झुण्ड्याउनेहरु । जसले हाम्रो अधिकार र पीडा माथि बोलेकै छैनन् । दुताबासहरु पनि मुकदर्शक भएका छन् । राज्यप्रति हाम्रो सदावहार गुनासाहरु रहेकै छन् ।

Logo