नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालित

नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालित


चितवन, ७ असार । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालनमा आएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिराका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार राति पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चले पनि बिहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो ।
बिहान ०७ः५ बजे खुलेको सडक पुनः ०८ः५ बजे अवरुद्ध बनेको थियो । बिहान ०८ः५० बजेदेखि सडक दुईतर्फ सञ्चालन भएको प्रहरीले जनाएको छ । वर्षाका कारण मुग्लिनदेखि जलवीरेसम्मको क्षेत्रमा सात स्थानमा सानाठूला पहिरो खसेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका डोजरको सहयोगमा पहिरो पन्छाइएको हो । दुई दिनअघि कालीखोलामा पहिरो खस्दा आठ घन्टा यातायात अवरुद्ध हुन पुगेको थियो । नारायणगढ–मुग्लिन सडक विस्तारको काम भइरहेकाले भित्तो काटिएको ठाउँमा पहिरो जाने क्रम चलिरहेको छ । रासस

Logo