सिंहदरबार जोगाउन प्लाष्टिकले छोपियो

सिंहदरबार जोगाउन प्लाष्टिकले छोपियो


काठमाडौः भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिततर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक)ले छोप्ने कार्य सुरु गरिएको छ ।

भूकम्पबाट क्षति पुगेको पश्चिमी मोहडालाई तत्काल वाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको हो । एक सय वर्षभन्दा पुरानो सिंहदरबारलाई भत्काउने कि यसलाई रेट्रोफिटिङ (प्रवलीकरण) गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्राधिकरणले रेट्रोफिटिङ गर्ने निर्णय गरेको थियो ।

भूकम्पअघि प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग लगायतका कार्यालयहरू रहेको सो पुरातात्विक भवन राणा प्रधानमन्त्री चन्द्र शमसेरको पालामा बनेको थियो ।

मनसुन सुरु हुन लागेकाले तत्कालका लागि सिंहदरबारलाई पानीबाट जोगाउन मंगलबारदेखि सुरु गरिएको छोप्ने कार्यअन्तर्गत पश्चिमी मोहडातर्फको ३३ हजार १ सय फिट क्षेत्रफल सम्पन्न गरिने प्राधिकरणले जनाएको छ ।

स्क्याप फोल्डिङका लागि पनि टेण्डर प्रक्रिया गरी गुणस्तर परीक्षणका लागि विभागमा पठाइएको र क्षतिग्रस्त उक्त भागलाई पूर्ण रुपमा ढाक्न एकसाता लाग्ने प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार स्क्याप फोल्डिङका लागि म्याप इन्टरप्रेनर कम्पनीलाई एक करोड ४१ लाख रुपैयामा ठेक्का समेत दिइसकिएको छ । प्राधिकरणको गत माघमा बसेको कार्यकारी समितिको ४५ आंै बैठकले पश्चिमी मोहडाकोतर्फको भागलाई संरक्षण/प्रवलीकरण गर्न समिति गठन गरेको थियो ।

केही परामर्शदाता कम्पनीले सिहदरबारको उक्त भागलाई भत्काउने सल्लाह दिए पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले एसियाकै ऐतिहासिक धरोहरको रुपमा रहेको सिहदरवारको मौलिक संरचना जोगाउन आवश्यक भएकाले उक्त भवनलाई नभत्काएर प्रवलीकरण गर्ने पक्षमा अडान राखेका थिए ।

प्राधिकरणको पुनः प्रमुख कार्यकारी अधिकृत भएर आएपछि यसको आवाज उठाउँदै आएका डा. पोखरेलले यसको निर्णय पनि गराएका थिए । भवनलाई प्रवलीकरण गरी संग्रहालयको रुपमा विकास गर्ने प्राधिकरणको योजना छ ।

तस्विर सौजन्य : कारोबार दैनिक
साभार : कारोबार दैनिक

Logo