विराटनगर महानगर र दुई उपमहानगरमा एमालेका उम्मेदवार तय

विराटनगर महानगर र दुई उपमहानगरमा एमालेका उम्मेदवार तय


काठमाडौँ, २७ जेठ । नेकपा ९एमाले०को आजको स्थायी कमिटीको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरपालिकासहित दुई उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ ।

पार्टीले विराटनगर महानगरपालिका प्रमुखमा मोरङका जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा परिस्थितिको विश्लेषण र स्थानीय राय–सल्लाहका आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक भीम आचार्यलाई दिएको छ ।

यस्तै धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारी तथा इटहरी उपमहानगरपालिका प्रमुखमा द्वारिकलाल चौधरी र उपप्रमुखमा लक्ष्मी गौतमलाई उम्मेदवारी दिने निर्णय गरेको छ ।

निर्वाचन अनिवार्य

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्ष र ऐतिहासिक संविधानसभाबाट निर्माण भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझ सुदृढ गर्दै जनताको घरदैलोसम्म राज्यका निकायहरुको सेवा विस्तार गर्ने र मुलुकको आर्थिक समृद्धिका निम्ति राज्य र जनताको संयुक्त पहलकदमीलाई अघि बढाउन स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको उपस्थिति अनिवार्य रहेकामा जोड दिएको छ ।

पार्टीका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनपश्चात् आमजनतामा उत्साहको सञ्चार देखापरेको र यो ऐतिहासिक आवश्यकतालाई मनन गर्दै लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको संस्थागत विकास र जनतालाई अधिकारसम्पन्न बनाउन आउने असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै राजनीतिक दललाई उत्साहका साथ सहभागी बन्न बैठकले आह्वान गरेको जनाइएको छ ।

निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गर्न र सम्पूर्ण मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने अवसर सिर्जना गर्न बैठकले नेपाल सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गरेको छ ।

अन्सारी सल्लाहकारमा मनोनित
बैठकले हालै राष्ट्रिय जनता पार्टी परित्याग गरी प्रवेश गर्नुभएका समिम मियाँ अन्सारीलाई पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । रासस

Logo