केन्द्रबिन्दु डेस्क । "/>

केटा जस्तो देखिएको भन्दै महिला टोलीमाथि नै प्रतिबन्ध

केटा जस्तो देखिएको भन्दै महिला टोलीमाथि नै प्रतिबन्ध


 


केन्द्रबिन्दु डेस्क । नेब्रास्का (अमेरिका), २४ जेठ ।

एकजना आठ वर्षीया बालिका ‘केटाजस्तो देखिएको’ आरोप लगाउँदै उनको गल्र्स फुटबल टोलीलाई प्रतियोगितामा भाग लिनबाट वञ्चित गरिएको छ । प्रतियोगिता आयोजकहरूले नै सानो कपाल (ब्यायज कट कपाल) राख्ने मिली हर्नान्डिज नामक बालिकामाथि यस्तो आरोप लगाएका हुन् ।

इएसपिएन डट कमले जनाएअनुसार, मिली अमेरिकी राज्य नेब्रास्कामा रहेको ओमाहा अजुरी काचोरोस क्लबको अन्डर–११ टोलीबाट नियमित खेल्दै आइरहेकी खेलाडी हुन् । उनीहरू नेब्रास्काको स्प्रिङफिल्ड सकर क्लब प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेवाला थिए जतिबेला उनीहरूको म्याच सुरु हुनुभन्दा चार घण्टा पहिले उक्त घटना भएको थियो ।
मिलीका अभिभावकहरूले उनी केटी नै भएको सम्पूर्ण प्रमाणित प्रमाणपत्रहरू देखाउँदा देखाउँदै पनि आयोजकहरूले ‘मिली केटाजस्तो देखिएकाले’ उनको सिङ्गो टोलीले प्रतियोगितामा भाग लिन नपाउने जानकारी गराए ।

उक्त घटनापछि पूर्वअमेरिकी महिला फुटबल हस्तीद्वय एबी वाम्बाक र माया ह्यामका साथै महिला टेनिस लिजेन्ड बिली जिन किङले मिलीप्रति आआफ्नो समर्थन व्यक्त गरेका छन् ।

वाम्बाकले आफ्नो ट्विटरमा लेखेकी छन्, ‘मिली, कसैलाई पनि तिमी जस्ती छौ त्यसरी पर्फेक्ट छैनौ भनेर भन्ने अवसर कहिल्यै पनि नदेऊ । मैले पनि सानो कपाल राखेरै अनेक प्रतियोगिताहरू जितेकी हुँ ।’

माया ह्यामले भनेकी छन्, ‘हे मिली, हामी हाम्रो कुनै फुटबल एकेडेमीमा तिमीलाई सामेल गराउन चाहन्छौँ । तिमी जस्ती छौ, त्यस्तै रहू ।’

यसैगरी बिली जिन किङले लेखेकी छन्, ‘मिली, तिमी जस्ती छौ त्यही रूपमै अगाडि बढ । ठुला ठुला सपनाहरू हेर र तिनलाई हासिल गर्न लागि पर । माया ह्यामले राखेको प्रस्ताव स्वीकार गर्दै उनीहरूले सञ्चालन गर्ने एकेडेमीमा जाऊ ।’

हर्नान्डिजले स्थानीय ओमाहा टेलिभिजनसित कुराकानी गर्दै भनिन्, ‘केटाजस्तो देखिनुको अर्थ म केटा नै हुँ भन्ने कुरा हुँदैन । आयोजकहरूले हाम्रो क्लबलाई नै प्रतियोगितामा खेल्न नदिनु पछाडि कुनै तार्किक कारण देखिँदैन ।’

उनका पिता गेरार्डो हर्नान्डिजले भने, ‘आयोजकहरूको निर्णय थाहा पाएर मिली स्तब्ध भएकी छन् । आयोजकका कुरा सुनेर उनी रोइरहेकी थिइन् । आयोजकहरूले उनलाई रुवाए ।’

उनले आयोजकहरूले मिली केटी भएको प्रमाणित गर्ने स्वास्थ्य बिमा कार्ड हेर्न पनि चाहेनन् । उनले भने, ‘म त बहुलाहाजस्तो भएको छु । यस किसिमको समस्या मैले कहिल्यै भोग्नुपरेको थिएन । मिली पछिल्ला धेरै वर्षहरूदेखि अनेक प्रतियोगिताहरू खेल्दै आइरहेकी छन् । मलाई कसैसित समस्या छैन तर कसैसित व्यवहार गर्ने यो कुनै तरिका होइन ।’

लिडिया विलियम्स, राचेल डाली, हेली कार्टर र जेनिन भान विकसमेत अमेरिकी महिला फुटबल टोलीका अरु पनि अनेक पुराना र नयाँ स्टार खेलाडीहरूले मिलीप्रति समर्थन जनाइरहेका छन् ।

प्रतियोगिताका आयोजकहरू हर्नान्डिज र उनको परिवारलाई मिलीको टोलीलाई डिस्क्वालीफाईविरुद्ध नेब्रास्का राज्य फुटबल संघमा उजुरी गर्न सक्ने जानकारी पनि दिएका छन् ।

स्पोटर््स इलस्ट्रेटेड पत्रिकाका कानुनी विश्लेषक माइकल म्याकनानले आफ्नो ट्विटरमा लेखेका छन्, ‘मिली हर्नान्डिजको स्वास्थ्य बिमा कार्डले उनको लैङ्गिकताबारे स्पस्ट पारेको भए पनि प्रतियोगिता आयोजकहरू असहमत देखिए । अदालती प्रक्रियाका लागि अग्रिम शुभकामना ।’

स्प्रिङफिल्ड फुटबल संघले उक्त डिस्क्वालीफिकेसन मिलीको सानो कपाल भएको कारणले नभई भुलवश टिम रोस्टरमा उनको नाम केटाका रूपमा पर्न गएको हुनाले हो ।

टोली प्रशिक्षक मो फारिभारीका अनुसार रोस्टरमा उक्त गल्ती रजिस्टर गर्दा टाइप गल्ती भएकाले हुन गएको हो ।

अमेरिकी महिला फुटबल लिजेन्ड वाम्बाकले इन्स्टाग्राम मार्फत मिलीलाई एउटा सन्देश पनि पठाएकी छन् । सन्देशमा उनले भनेकी छन्, ‘प्रिय मिली हर्नान्डिज, तिमी हरेक कुरामा अमेजिङ छौ । हामीलाई कसरी बहादुर बन्नुपर्छ र कसरी संवेदशनशील तरिकाले त्यो कुरा सार्वजनिक गर्ने भनेर सिकाएकोमा धेरै धन्यवाद । यदि तपाइँहरू उनलाई चिन्नुहुन्न भने उनी मेरा नयाँ हिरो हुन् । उनको टिमलाई एउटा प्रतियोगिता खेल्न नदिएर डिस्क्वालीफाई गरियो किनभने आयोजकहरूले उनलाई कटाजस्तो देखिएको ठहर गरे र एउटा सामान्य त्रुटीलाई समुचित तवरले हयान्डल गरिएन । बहिनी, हामी छिटै भेटौँ ।’

Skip This
Logo