विवाहपछि धेरै केटीहरु टाढा भए

विवाहपछि धेरै केटीहरु टाढा भए


सुविन भट्टराई, साहित्यकार

युवापुस्तालाई साहित्यसँग जोड्दै छन् सुविन भट्टराई । उनले लेखेका उपन्यासहरु ‘समरलभ’ र ‘साया’ले त्यही गरे । अनौठो त के छ भने उनी उपन्यास लेखेर नै ‘सेलिब्रेटी’ बने ।

‘कथाकी पात्र’ नामक कथा संग्रह लेखेर औपचारिक रुपमा साहित्यमा हामफालेका सुविन कलेजका विज्ञान शिक्षक हुन् । तर उनलाई लाखौं पाठक माझ चिनाउने र जोड्ने माध्यम बन्यो, साहित्य । ‘टिनएजर’ ले पनि स्वतहस्पूर्त रुपमा साहित्य पढ्छन् र सुन्छन् भन्ने संदेश पनि उनकै कृतिले पुष्टि गरे । जतिले पुस्तक खरिद गरेर उनका कृति पढे, त्यो भन्दा धेरैले उनको कृतिको अडियो सुनेर मजा लिए ।

युवापुस्ताका उनै चक्लेटी उपन्यासकार सुविन भट्टराईसँग केन्द्रबिन्दु संवाददाताले समसामयिक विषयमा गरेको कुराकानीको केही अंश ।

फिल्म पनि लेख्नुहुन्छ होइन ?
– खै के भन्ने ? एउटा फिल्म लेखेको थिएँ, न पारिश्रमिक दिए, नत पोष्टरमा नाम ? फिल्मक्षेत्र बदनाम छ भन्ने सुनेको थिएँ, आफैंले भोगें ।

फिल्म लेखनको ‘अफर’ त धेरै होला नि ?
– ‘अफर’ प्रसस्तै छ । तर लेख्ने सोच छैन । ‘समरलभ’लाई विकास आचार्यले फिल्ममा अनुवाद गर्दै हुनुहुन्छ । त्यत्ति हो । यस क्षेत्रमा हात हाल्ने अवस्था पनि छैन । ३ वटा फिल्म दिएर नयाँ फिल्म तयार गरिदिनु परो भन्ने अफर आउँछ । फिल्म ‘कपी’ गरेर बस्नुको अर्थ छैन ।
 कस्तोखाले विवाह हो तपाईंको ?
– डेढ बर्ष भयो, विवाह भएको । ‘लभम्यारिज’ हो । तर, मिडियामा आएजस्तो ‘फ्यान’सँग विहे भएको होइन ।

माध्यम त लेखन नै बन्यो क्यार होइन ?
– हो । तर मेरो लेखनवाट हुरुक्क भएर होइन । मेरो लेखन ठिकै हो भन्नेखाले हुन् उनी । समरलभ उनलाई ‘औषत’ मात्र लाग्यो रे । समग्रमा भन्दा उनी मेरो लेखनको पाठक मात्र हुन् ।

उहाँलाई समरलभ किन ‘औषत’ मात्र लाग्यो ?
– पुस्तक आउनुअघि उनको ‘हाइएस्पेक्टेसन्’ रहेछ । पढेपछि खोजेजति पाइएन । नेपाली–अंग्रेजी साहित्य पढेकालाई समरलभ केटाकेटी खेलेजस्तो मात्र लाग्न सक्छ । उनलाई पनि त्यस्तै–त्यस्तै भएको हुनुपर्छ ।

उहाँलाई साया चाहिं कस्तो लाग्यो रे ?
– सायाको पहिलो कपी उनैलाई पठाएँ । त्यो चाहिं उनलाई राम्रो लाग्यो रे ।

विहेका वारेमा भन्नुस् न !
– एउटा ‘सर्टेन’ उमेर कटेपछि जीवनसाथीको आवश्यकता खड्किदोरहेछ । अनि चौतर्फी ‘प्रेसर’ पनि हुँदो रहेछ ।

जीवनसाथी यस्तो हुनुपर्छ भन्ने ‘इमेज’ थिएन ?
– थियो, धेरै अघिदेखि थियो । तर, इमेज बनाएजस्तो ठ्याक्कै त कहाँ पाइन्छ र ? तर सोचेभन्दा राम्रो गुण उनमा पाएँ ।

भनेपछि बैवाहिक जीवनदेखि खुसी हुनुहुन्छ ?
– खुसी छु । आफूले सोचे जस्तो गुण भएकी र आफूलाई बुझ्ने मान्छे हुँदा दुखी हुनुपर्ने कारण हुन्न रछ । मुलकुरा सोच मिल्यो ।

विवाहपछि त फ्यानहरु टाढा भए होला होइन ?
– धेरै फ्यानहरु विवाहपछि टाढा भए । कतिले सम्पर्क गर्न छोडे । यसको मतलव उनीहरुले मेरो वैवाहिक जीवनलाई सुरक्षित बनाउन खोजेको पनि हुनसक्छ । तर मेरो सृजना मनपराएर नजिक भएकाहरु भने टाढा भएका छैनन् । मेरो फेसबुक पोष्टमा लाइक घटेको छैन ।

विवाह अघि र पछिको जीवन कति फरक हुँदो रहेछ ?
– आजाद पंक्षी पिञ्जरामा परेजस्तो पनि भनिन्छ । तर मलाई चाहिं त्यस्तो भएन । किनभने उनले जीवन–जगत बुझेकी छन् । बाँधेर राख्ने सोच उनमा छैन ।

एउटा उदाहरण पेश गर्न सक्नुहुन्छ ?
– अँ, मेरो आगामी उपन्यास मनसुनको तयारी हुँदै थियो । तर, घरको माहोल जमेर लेख्नेखाल्को भएन । उनले पनि फिल गरिन् र कतै रिसोर्टमा बसेर लेख्न अनुरोध गरिन् । मैले पनि स्वीकारें र १० दिन सौराहामा भूमिगत भएर लेखें । अव आफैं बुझ्नुस् श्रीमतिजीको ‘अन्डरस्ट्यान्डिङ’ ।

साहित्यिक यात्रावाट कत्तिको संतुष्ट हुनुहुन्छ ?
– सुरुमा लेख्दा यसैलाई नै पेशा वनाउँछु भनेर सोचको थिईंन । तर जव कामको प्रतिफल देखियो, त्यसपछि म धेरै नै संतुष्ट भएँ । संतुष्ट हुनुपनि पर्छ ।

लेखेर जीवन धान्न पुग्छ ?
– पहिला र अहिले समय फेरिएको छ । पढ्नेहरु बढेका छन् । हिजो ५ हजार पुस्तक बिक्रिहुँदा ‘बेष्ट सेलिङ’ भनिन्थ्यो । आज २५–३० हजार नभइ ‘बेष्ट’ हुनसकिन्न । त्यसकारण नियमित लेख्नेहरुलाई पुगेकै हुनुपर्छ ।

तपाईंलाई पनि पुगेको छ ?
– मलाई पनि पुगेको छ । म कलेज पनि पढाउँछु । तर, बाँच्नलाई मैले कलेज पढाउन जरुरी छैन । लेखेर नै पुग्छ ।

‘बेष्ट सेलर’ हुन के कुरा जरुरी छ ?
– सवैभन्दा पहिला ब्यवसायिक हुनुपर्छ । पाठकको स्वादलाई ध्यानमा राखेर लेख्नु पर्छ । सरल भाषा शैली र हामी वरपरका चरित्रहरु स्वभाविकरुपमा उतार्न सक्नु पर्छ । कथात्मकता पहिलो र, त्यसको प्रस्तुति बेजोड हुनु पर्छ ।

साहित्यमा ब्यवसायिकता भनेको के हो ?
– पाठकको रुचीलाई ध्यान दिन पर्छ भनेको हो । भाबुक दृश्य उतार्न हाँसेर हुँदैन । न्याय गर्न सकिदैन । पात्र र कथालाई न्याय गर्न मनलाई त्यसै मुताविक परिवर्तन गर्न जरुरी छ । मुड अनुसार चल्छु भनेर हुँदैन ।

मान्छे कसरी साहित्यमा प्रेरित हुन्छन् ?
– यसकालागी प्रेरणा जरुरी हुन्छ । जुन घरमा एउटा पनि पुस्तक हुन्न र पुस्तक राख्ने दराज हुन्न भने त्यहाँ माहोल बन्दैन । माहोल सवैभन्दा ठूलो कुरा हो ।

तपाईं चाहिं कसरी प्रेरित हुनुभयो ?
– घरको माहोल पढ्ने खाल्को थियो । हजुरवा–हजुरआमा यत्रो रामायणको किताव निकालेर पढ्न बस्नु हुन्थ्यो । ०४५–४६ सालताका आफन्तहरुले घरमा राता किताव ल्याएर छोड्दिनु हुन्थ्यो । भेटेसम्म र फुर्सद पाएसम्म पुस्तक पढिन्थ्यो । वीपी, पारिजात, भूपी, ध्रुबचन्द आदि साहित्यकारका पुस्तक मैले स्कूल जीवनमा नै पढिसकेको थिएँ । साहित्यको स्वाद त्यहीवेला गडेको हो ।

भूपीका कविता र राता किताव पढेर तपाईं कसरी मायाप्रितीका विषय लेख्ने बन्नु भयो ?
– कविता भन्ने वित्तिकै पढिने नाम भूपी नै हो । पढेपढ् नपढेनपढ् । मैले पनि प्रसस्तै कविता लेखेको छु । दुईवटा त संग्रह नै तयार गरेको छु । तर ती संग्रह म कहिल्यै छाप्दिन । किनभने ती सवै भूपीकै कविता जस्ता छन् । त्यस्तो कविता छाप्न जरुरी पनि हुँदैन । नयाँ आयाम दिन सक्दा मात्र सार्वजनिक गर्ने हो ।

अहिलेका सवै कविहरुले भूपीकै जस्तो कविता लेख्छन् नि होइन ?
– हो, समकालीन कविका कविता भूपीकै जस्ता छन् । नयाँ उचाई दिन सक्ने हो भने मात्र प्रकाशितगर्दा ठीक हुन्छ जस्तो लाग्छ । नत्र अर्थ रहन्न ।

लेखनको सुरुवात के वाट गर्नुभयो ?
– संसारकै मान्यता, मान्छेले कवितावाट लेख्न सुरु गर्छ । म पनि अपवाद हुन सकिन । तर मैले मेरा कविता प्रकाशित गर्न जरुरी ठानिनँ ।

विज्ञानको विद्यार्थि कसरी साहित्यमा लाग्नु भयो ?
– सानैदेखि साहित्यमा रुची थियो भनेर भनिहालेँ । जव एसएलसी पास गरें, मैले नेपाली पढ्ने भनें । तर राम्रो पर्सेन्टेज भनेर घर र आफन्तले साइन्स् नै पढ्न दवाव दिनु भयो । मैले हारें । त्यसपछि मैले पढ्दैजाँदा एमएससी गरें, त्यो पनि ८९ प्रतिसत ल्याएर । यतिहुँदा पनि कतै रोजगारी पाईंन । बायोडाटा छोड्दै हिडियो । कसैले पनि बोलाएनन् । त्यहीवेला लेख्न थालें । अहिले लाग्छ, भगवानले त्यही खेल खेलेका रछन् ।

आगामी दिन कसरी अघि बढाउनु हुन्छ ?
– हरेक दुई बर्षमा एउटा कृति प्रकाशितगर्ने मेरो सोच हो । पाठकको रुची ख्याल गरेर लेख्ने प्रतिवद्धता पनि हो ।

Logo