बैतडीमा नौ मतदानस्थल थपियो

बैतडीमा नौ मतदानस्थल थपियो


आगामी बैशाखमा हुने मध्यावधि निर्वाचनका लागि बैतडीमा नौ मतदानस्थल थप हुने भएका छन् । पाटन , मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर  तथा डिलाशैनी गाउँपालिकामा ती मतदानस्थल थप्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  

मतदाता सङ्ख्या बढी भएको र भगौलिकरुपमा टाढा रहेको मतदानस्थलको हकमा थप्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए । जिल्लाको पुर्चौंडी नगपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिकामा दुई÷दुई र मेलौली नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एक/एक मतदानस्थल थप गरिने भएको  हो ।  

पुर्चौंडी– २ को समैजी आधारभूत विद्यालय ल्याटी, पुर्चाैडी– १० को गलेश्वर माध्यमिक विद्यालय कटपते, सिगास– ६ को नौला आधारभूण्त विद्यालय बत्थी, सिगास– ९ को निरपाल आधारभूत विद्यालय चुवा, डिलाशैनी– ५ को वेतालेश्वर आधारभूत विद्यालय र डिलाशैनी– ७ को डिलाशैनी मावि खेतीगाउँमा मतदानस्थल थपिने जनाइएको छ । 

यस्तै मेलौली– ७ मा मणिलेक मावि केशरपुर, पाटन– १ को भुवनेश्वर मावि लदौली र पञ्चेश्वर– ६ को आम्पुर मावि बिजुललाई पनि नयाँ मतदानस्थलका रुपमा थप्न सिफारिस गरिएको हो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप गर्ने निर्णयसहित निर्वाचन आयोगलाई सिफारिस गरेको हो ।  

यसैबीच जिल्लाको दुई वटा मतदानस्थललाई सार्ने निर्णय पनि भएको छ । दोगडाकेदार गाउँपालिका– ४ मा रहेको हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ भने मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको मतदानस्थललाई सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिस गरिएको हो ।  

वि.सं. २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला १२० मतदानस्थल रहेकामा नौ बढेर अब १२९ मतदानस्थल हुने भएका छन् । 

Logo