भागरथीको हत्यारालाई तत्काल कारवाही होस्ः नेकपा प्रचण्ड–नेपाल समूह

भागरथीको हत्यारालाई तत्काल कारवाही होस्ः नेकपा प्रचण्ड–नेपाल समूह


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक विज्ञप्तिमार्फत यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।  

विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीय किशोरी भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको नेकपाले घोर भत्र्सना गरेको छ । अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, “डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।”  

विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दै नेकपाले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । नेकपाले मृतक किशोरी भागरथीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । 

Logo