केन्द्रबिन्दु बुलेटिन : ‘संसद पुनर्स्थापना नभए देशमा आँधी हुरी आउँछ’-प्रचण्ड (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ‘संसद पुनर्स्थापना नभए देशमा आँधी हुरी आउँछ’-प्रचण्ड (भिडियोसहित)


हामीले हरेक दिन दिनभरिका मूख्य समाचारहरु प्रस्तुत गर्दै आएका छौं । यसैक्रममा आज पनि मूख्य ५ समाचार प्रस्तुत गरेका छौं । आजका समाचार मध्ये नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले बुधबार प्रधिनिधिसभा विघटनविरुद्धमा काठमाडौंमा प्रदर्शन गरि विरोध सभाको आयोजना गरेको छ । देशभरका नेता तथा कार्यकर्तासहित आयोजित विरोध सभामा सो पक्षिय नेकपाका शीर्ष नेताहरूले सभालाई सम्बोधन गरेका थिए । सम्बोधनमा अधिकांस वक्ताले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको गैरसंवैधानिक कदम भएको भन्दै सरकारको विरोधमै समय खर्चिए । उनीहरूले संसद पुनर्स्थापना नभए देशमा आँधी हुरी आउने चेतावनी दिए भने ओली सरकारले चुनाव नगराउने षड्यन्त्र रचिरहेको आरोपसमेत लगाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्दै शुन्य सहनशीलता देखाउन सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतका कतिपय घटनामा अनुचित ढंगले प्रस्तुत भएको भन्दै निर्दोष मान्छेका निम्ति अख्तियार त्रास नभएर संरक्षणको थलो बन्नु पर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले अपराजित यात्रालाई कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार चन्द्रपुर नगरपालिकालाई ८–० गोलले पराजित गर्दै एपीएफले जीतको यात्रालाई कायम राखेको हो । एपीएफको जीतमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।  

बालुवाटारस्थित ललिता निवासभित्रको १ सय १३ रोपनी सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल बयानका लागि बबरमहलस्थित विशेष अदालतमा उपस्थ्ति भएका छन् । उनको विशेष अदालतमा बयान जारी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरुद्ध ३९ करोड २८ लाख बिगो माग दाबीसहित मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  

एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्सको विषयमा छलफलका लागि बुधबार सिंहदरबारमा कृषिमन्त्री अर्याल र नेपालका लागि इजरायली राजदूतबीच भेटवार्ता भएको छ । छलफलमा मन्त्री अर्यालले नेपाली कृषकहरुलाई इजरायली प्रविधिको तालिम र प्रशिक्षणको व्यवस्था गर्न सके नेपाली कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा व्यक्त गरिन् ।

Logo