केन्द्रबिन्दु बुलेटिन : बलात्कारका घटना बढ्दै गएपछि सर्वत्र चिन्ता, अपराधीले उन्मुक्ति पाएको गुनासो (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : बलात्कारका घटना बढ्दै गएपछि सर्वत्र चिन्ता, अपराधीले उन्मुक्ति पाएको गुनासो (भिडियोसहित)


हरेक दिन जस्तै आज पनि हामीले दिनभरिका मूख्य समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेपालमा विभेद, हिंसा र बलात्कारका घटना बढ्दै गएपछि यसका सम्बन्धमा चौतर्फी चासो र चिन्तन बढेको छ । यस सम्बन्धमा विशेष गरेर महिला अधिकारवादीहरूले चिन्ता व्यक्त गर्न थालेका हुन् । राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व हुँदा पनि महिला हिंसा र विभेदका घटना बढ्नुले थप चिन्ता बढाएको अधिकारकर्मीहरू भनाई छ ।

बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दै काठमाडौंमा महिला मार्च निकालेको छ । बसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकालीहुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो । महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनु पर्ने, पीडितहरुले न्याय पाउनु पर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउन नहुने लगायत नारा लगाइएको थियो । यस्तै आजै स्रष्टाहरुले हातमा साङलो बाँधे प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गरेका छन् भने, माइतीघर मण्डलामा नागरिक खबरदारी पनि भएको छ ।

विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटमाथि ३–० को सहज जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुरमाथि ३–० को सहज जित निकालेको हो । लिगमा पुलिसको यो चौंथो जित पनि हो।  

विश्व महामारीका रूपमा फैलिएका कोरोना भाइरसका कारण नेपालको उद्योग क्षेत्रमा सबैभन्दा बढी लघु तथा घेरेलु उद्योगमा परेको छ । गत बुधबार उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनि गरेको प्रतिवेदन अनुसार २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको देखिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् ।  मन्त्रालयद्वारा आज आयोजित दोलखाली पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा  मन्त्री गुरुङले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउन लागेको जानकारी गराएका हुन् ।

Logo