लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकारविरुद्ध लाग्ने प्रचण्डको चेतावनी

लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकारविरुद्ध लाग्ने प्रचण्डको चेतावनी


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी विकास तर्फ लैजाने ऐतिहासिक पहलकदमीमाथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदहरुको रगतबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताएका हुन् । उनले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकार विरुद्ध लाग्ने चेतावनी दिए। उनले सहिदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी नै दिए।

सकारात्मक सामाजिक रुपान्तरणका निम्ति बलिदानी गरेका सहिदहरुलाई केही समय राज्यले दबाउने र सम्मान पनि नदिन सक्ने माक्र्सले भन्ने गरेको स्मरण गर्दै उनले अन्ततः नयाँ पिँडीहरु सहिदको सम्मानका लागि सरकारलाई खबरदारी गरी सम्मान दिलाई छाड्ने बताए ।  

उनले सबै जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णयलाई कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहने प्रतिवद्धता जनाए । आफू पहिलो चोटी संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचित प्रधानमन्त्री भएको बेला पहिलो मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेपनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उनले स्वीकार गरे ।

कार्यक्रममा सबै सहिद र सहिदका परिवारको सम्मानको प्रतिकका रुपमा सहिद की आमालाई सम्मान गरिएको थियो । जनयुद्ध दिवसको अवसरमा प्रचण्ड माधव समूहले मुलुकभर नै सहिद र उनका परिवारको सम्मानमा कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरेको थियो ।  

Logo