प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी केबुलकार आयोजना निर्माणको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी केबुलकार आयोजना निर्माणको शिलान्यास


प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबुलकार आयोजना निर्माणको शिलान्यास गरेका छन् । शनिबार बुटवलमा एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ बाट पाल्पाको तिनाउ बसन्तपुरडाँडा जोड्ने हिलस्टेसनसहितको केबुलकार आयोजना निर्माणको शिलान्यास गरेका हुन् ।  

शिलान्यास कार्यक्रमपछि बोल्दै प्रधानमन्त्री ओलीले केबुलकार निर्माणको शिलान्यासबाट सबै खुशी भएको धारणाका साथ अर्काे वर्ष फागुन १ गते वसन्तपुरडाँडामा केबुलकारको उद्घाटन गरिने विश्वास व्यक्त गरेका छन् ।  

लुम्बिनी केबुलकारको लम्बाई तीन किलोमिटर रहनेछ । आयोजना करिब ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ । चन्द्रागिरी केबुलकारपछि बुटवलमा निर्माण गरिने यो लोकेसन वेनेफिटको स्थानको आयोजना रहेको मानिएको छ ।  

केबुलकार निर्माणका लागि व्यवसायी तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अनुमति पाएका छन् ।  

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाल सञ्चालक रहेको कम्पनी लुम्बिनी केबुलकार प्राइभेट लिमिटेडलाई उक्त अनुमति दिएको हो । २५ वर्षका लागि प्रयोग गर्न दिने र त्यहाँ रहेका कूल १ हजार ३ सय ३८ वटा पोल एवं रुखहरु हटाउन समेत स्वीकृति दिएको छ ।

Logo