केन्द्रबिन्दु बुलेटिन : आयोगद्वारा आगामी निर्वाचनका आचारसंहिताबारे दलहरुसँग छलफल (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : आयोगद्वारा आगामी निर्वाचनका आचारसंहिताबारे दलहरुसँग छलफल (भिडियोसहित)


हामीले हरेक दिन प्रमुख समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनको रुपमा प्रशारण गर्ने गरेका छौं । आज पनि हामीले दिनभरका मूख्य समाचारहरुलाई प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये  निर्वाचन आयोगले आगामी निर्वाचनका आचार संहिताबारे राजनीतिक दलहरुसँग छलफल गरेको छ । ०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र बैशाख २७ गते सोमबार दोश्रो चरणमा निर्वाचन गर्ने मिति घोषणा भएसँगै तयारी थालेको आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामाथि संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको हो । आजको छलफलमा छलफलमा १२ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

सर्वोच्च अदालतले माधवकुमार नेपालसहितको ललिता निवास जग्गा काण्डको मुद्दामा आज प्रमाण बुझ्ने आदेश गरेको छ । न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले ललिता निवास काण्डका प्रमाण माग्ने आदेश गरेको हो । ललिता निवास काण्डमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई किन मुद्दा चलाइएन भन्दै सर्वोच्चमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरूद्ध मुद्दा दर्ता भएको थियो ।  

अमेरिकाका पूर्वराष्ट्रति डोनाल्ट ट्रम्पमाथि लागेको महाअभियोग दुई तिहाई समर्थन जुट्न नसक्दा असफल भएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले पूर्व राष्ट्रपतिमाथिको अभियोगमा समर्थन जुटाउन गरेका मतदानमा १० भोट नपुग्दा यो सफल हुन नसकेको हो । अभियोग लगाउने प्रयास असफल भएपछि महाभियोग सुनुवाइको आलोचना गर्दै ट्रम्पले त्यसलाई एउटा विज्ञप्तिमार्फत् इतिहासकै सबैभन्दा नराम्रो कारबाहीका रूपमा व्याख्या गरेका छन् ।

रश्मी घिसिङले चार गोल गरेपछि त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला फुटबल लिगमा आइतबार चन्द्रपुर नगरपालिकालाई ६–१ ले पराजित गरेको छ । विभागिय टोलीलाई लिगमा आठौँ जीत दिलाउन विमला चौधरीले दुई गोल थपिन् । चन्द्रपुरका लागि रजनी थोकरले एक गोल फर्काइन् । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा भएको खेलमा जीत निकालेसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लेको छ ।  

नेकपा दाहाल–नेपाल समूहले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यसअघि काठमाडौंमा केन्द्रीत आन्दोलनका कार्यक्रम गरेको दाहाल–नेपाल समूले चौथौं चरणका कार्यक्रम प्रदेश र जिल्ला स्तरीय केन्द्रीत छन् ।

Skip This
Logo