सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैबाट भएपछि संसद विघटनः प्रधानमन्त्री ओली

सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैबाट भएपछि संसद विघटनः प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।  

भुकम्पले क्षतिग्रस्त भई पुर्ननिर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको सोमबार उद्घाटन गर्दै उनले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर त्यस प्रकारको निर्णय गरेको बताएका हुन् । उनले आफ्नो ३ बर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरुको प्रगति विवरण पेश गर्दै विकास निर्माण र मानवविकास सुचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताए । उनले अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफुसँग भएको दावी गरे ।

सुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टीभित्रबाट असहयोग हुँदै आएको भन्दै उनले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पारे । उनले पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको आरोप समेत लगाए ।

सत्ता सञ्चालन गरेकै दलका केही नेताहरुमा अतिरिक्त महत्वकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर आफू हरदम सचेत रहेको, अनेकौं लाञ्छाना सहेरै भए पनि अप्ठेरो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयासबाट आफू सफल हुन नसकेको उनले बताए । सरकारलाई जसरी हुन्छ अलमलाउने, निहुँ खोजेर कामै गर्न नदिने अवस्थामा आफ्नै दलका साथीहरु उत्रिएको दुःखपूर्ण स्थितिमा सरकार रहेको उनले उल्लेख गरे । प्रतिनिधिसभा विघटन गर्नुपूर्वसम्म पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सकभर विस्थापित नै गर्ने बाटोमा हिँडेकालाई सम्झाउने र सही बाटोमा ल्याउन आफूले लगातार प्रयास गरिरहेको पनि उनको दावी छ ।

संसदीय दलमा आफ्नाविरुद्ध कुनै उजुरी नपरेको, नेता बदल्नुपर्छ भन्ने आवाज पनि नआएको भन्दै उनले नेकपाभन्दा बाहिरबाट मात्रै ५१ प्रतिशत नपुग्ने भएकाले वैकल्पिक सरकारको कतै सम्भावना नदेखेपछि आफूले प्रतिनिधिसभा विघटन गरेको पनि उनको दाबी छ । बेठिक, अस्वस्थ्य ढंगले अघि बढ्ने कुरा विग्रहको बाटो रोज्नु मात्रै भएकाले आफूले त्यस किसिमको निर्णय गरेको पनि उनले प्रष्ट पारे ।

देश अस्थिरता र अस्थायीत्वतर्फ जाने र सरकार परिर्वतन गर्ने अनियन्त्रित प्रक्रिया सुरु हुने संभावना रहेकाले त्यसबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको उनले बताए । मुलुक राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनुहुदैन भनेर राष्ट्रप्रति जिम्मेवार हुँदै फेरी जनताको माझ जाने निर्णयमा पुगेको पनि उनले स्पष्ट पारे ।  

आफ्ना सामु अस्वस्थ्य राजनीतिक फोहोरी खेल हुन दिने वा प्राप्त गरेका उपलब्धि रक्षा गर्दै स्थिरता र स्थायीत्वको बाटोबाट अघि बढ्ने दुई विकल्प मात्रै रहेको भन्दै उनले राजनीतिक अस्थिरता रोक्ने प्रतिवद्धता अनुसार त्यस किसिमको निर्णय गर्न पुगेको बताए ।

सरकारले अलोकतान्त्रिक काम नगर्ने

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेर सरकारले अलोकतान्त्रिक बाटो नरोजेको दाबी समेत गरे । ताजा जनादेशका लागि जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक हुन नसक्ने भन्दै उनले सरकारले अलोकतान्त्रिक क्रियाकलाप नगर्ने प्रतिवद्धता दोहोयाए ।

अघिल्लो जनादेशबाट आएका पात्रहरु उपयुक्त नभएकाले निर्वाचनमा गएर नयाँ पात्र चयन गरी प्रणालीमा सुधार गर्ने उद्घोष उनको छ । समय अगावै निर्वाचनमा जानु भनेको जनादेशप्रतिको अवहेलना नभई सम्मान भएको पनि उनको दावी छ ।

प्रधानमन्त्री ओलीले संविधानले निर्दिष्ट गरेको बाटोमा सरकार हिँडेको भन्दै सरकारले सधैं लोकतान्त्रिक विधि, प्रक्रिया र पद्धतीबाट चल्ने स्पष्ट पारे । उनले व्यक्तिगत स्वार्थका लागि केही नेताले निर्वाचन घोषणा भइसकेपछि एकजुट भएर चुनावमा जानुपर्नेमा पार्टीलाई नै विभाजित गर्ने कमजोर बनाउने अपराधपूर्ण काममा लागेको आरोप लगाए । नेताहरुबाट भएका अस्वस्थ्य गतिविधिहरु अलोकतान्त्रिक, गैरजिम्मेवार र असंवैधानिक भएको टिप्पणी उनको छ ।

सरकारका कामको फेयरिष्ट

प्रधानमन्त्री ओलीले आफुले सरकारको नेतृत्व गरेपछि गरेका विभिन्न कामहरुको फेयरिष्ट नै राखे । यो अवधिमा ८९ नयाँ कानून निर्माण भएको, संविधान सम्मत नभएका सयौं कानुनहरु संशोधन भएको तथा केन्द्र र प्रदेशस्तरीय वित्तिय व्यवस्थापनका लागि आवश्यक कानून, कार्यविधि निर्माण भएको जानकारी उनले दिए । आफूले सरकारको नेतृत्व लिने बेलामा अर्थतन्त्र अस्तव्यत, छरिएको, भद्रगोल र अन्यौलमा रुमलिएको अवस्थामा रहेकाले र आफूले त्यस किसिमको अर्थतन्त्रलाई सम्हालेको उनले बताए । उनले आफूले सरकारको नेतृत्व सम्हालेको पहिलो बर्ष मुलुकले ७ प्रतिशत, दोश्रो बर्ष ७ भन्दा माथिको आर्थिक वृद्धि हाँसिल गरेको तथा ७ वटा प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा माथि रहेको दावी गरे ।

उनले कोरोनाका कारण केही समय प्रभावित भएपनि मुलुक पुनः उच्च आर्थिक वृद्धिको बाटो समात्नेगरी चलायमान भइसकेको दाबी समेत गरे । अर्को बर्ष १० प्रतिको आर्थिक बृद्धि हुने संकेत देखिएको उनले बताए । उनले ३ बर्षको अवधीमा २९ प्रतिशतले सार्वजनिक खर्चमा वृद्धि भएको ,९ लाखभन्दा बढी जनसंख्यालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाइएको ,नेपालमा गरिबी नबढेको, भोकमरी नबढेको, सबै स्थानीय तहमा वित्तिय सेवा पुगेको,व्यवसायीक आयकरको दायारा ५२ दशमलव २ प्रतिशतले बढेको , बिमा सेवाको विस्तार २२ दशमलब ७ प्रतिशत पुगेको तथा कोभिडको महामारीमा पनि ५ प्रतिशत मात्रै मुल्यवद्धि भएको बताए ।

प्रधानमन्त्री ओलीले भुकम्पले क्षति पुर्याएका सरकारी भवनहरुको पुर्ननिर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी समेत दिए । उनले निजी निवास, सरकारी निवास, सरकारी भवन, सुरक्षा निकायका भवन, स्वास्थ्य संस्थानका भवन, धार्मिक एवं पुरातात्विक महत्वका भवन पुर्ननिर्माणको क्षेत्रगत विवरण पनि प्रस्तुत गरे । रानीपोखरी पुर्ननिर्माण भएको, धरहरालाई ऐतिहासिकता कायम गर्दै आधुनिक रुपमा पुर्ननिर्माण गर्ने काम भइरहेको, दरबार हाईस्कुलको पुर्ननिर्माण सम्पन्न भइसकेको बताए । उनले मुलुकभरका कालोपत्र सडकको विद्यमान अवस्था र निर्माणको विस्तृत विवरण पनि प्रस्तुत गरे । देशका धेरै विकट जिल्लामा तुँईन विस्थापित भएर झोलुङगे पुल निर्माण भएको उनले बताए । निर्माणको अनुपात हेर्दा प्रत्येक दिन ५ किलोमिटर सडक कालोपत्र हुने र हरेक दिन १ भन्दा बढी झोलुङगे पुल निर्माण भइरहेको उनले बताए ।

हुलाकी राजमार्ग, रेल आयोजना, मध्यमार्ग, लोकमार्ग, उर्जा उत्पादन तथा वितरण, हाईड्रोपावर आयोजना लगायत क्षेत्रभएको विकास र विस्तारको विवरण पनि उनले प्रस्तुत गरे । प्रधानमन्त्री कृषि आधुनिकीकरण वार्षिक अनुदान १० अर्बभन्दा माथि पुर्याइएको, दुध, माछामासु, तरकारी लगायत उत्पादनको वृद्धि अनुपात पनि उनले प्रस्तुत गरे । उनले वैदेशिक लगानी, उद्योगधन्दाको विस्तार, इन्टरनेट, टेलिफोन , विमानस्थल निर्माण तथा विस्तार शिक्षा स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा नेपालले ठूलो प्रगती हाँसिल गरेको बताए ।

प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचारको विरुद्धको अभियान सशक्त ढंगले अघि बढेको र पद र पहुँचका आधारमा भ्रष्टाचारीले छुट नपाउने दोहोर्याए ।

उनले झुटा नक्कली बिजक बनाउने, विदेशी विनिमय अपचनल गर्ने, राजश्व चुहावट लगायत यस बर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इतिहासमै सबैभन्दा धेरै मुद्दा दायर गरेको तथा मुलुकका विभिन्न स्थानका सरकारी जग्गाहरु सरकार मातहत ल्याउने काम भएको बताए ।

प्रधानमन्त्रीले महिला हिंसा लगायत जघन्य हिंसाका दोषीलाई उम्कन नदिने प्रतिवद्धता जनाए । सरकारले एसिड आक्रमण तथा बलात्कार र महिला हिंसा विरुद्धका अध्यादेशहरु ल्याएको र सो मार्फत दोषीलाई हदैसम्म कारवाही गर्ने, पीडितलाई तत्काल क्षतिपूर्ति सहित न्याय दिने प्रतिवद्धता समेत जनाए ।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरुले नेपाललाई लगानीको वातावरणमा सुधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षाको वातावरण लगायतमा राम्रो सुधार भएको देखाएको जानकारी दिए ।

ती प्रतिवेदनहरुमा कोभिडबीच पनि नेपालमा गरिबी नबढेको, प्रतिव्यक्ति आम्दानी पनि ८ सय ८७ बाट १ हजार ९७ पुगेको देखाएको उनको भनाइ छ । उनले कोही भोकै मर्दैन कोही भोकले मर्दैन भन्ने सार्थकता पाएको समेत बताए ।

चुनाव हुन्छ, निराश हुनुपर्ने अवस्था छैन

प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुने बताए । निर्वाचनका लागि आयोगले पनि आवश्यक तयारी गरिरहेको भन्दै उनले सबै नेपालीलाई निर्वाचनमा सक्रियताका साथ सहभागी हुन आग्रह गरे । उनले विदेशमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी हुन आमन्त्रण गरे ।

उनले प्राप्त उपलब्धिलाई हेर्दा निराश हुनुपर्ने अवस्था नभएको र निर्वाचनपछि मलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गरे । निर्वाचनपछि सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने उनको दावी छ ।

Skip This
Logo