प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको देशभर विरोध प्रदर्शन, कुन नेताले के भने ?

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको देशभर विरोध प्रदर्शन, कुन नेताले के भने ?


प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशव्यापीरूपमा प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख कदमको रूपमा टिप्पणी गर्दै कांग्रेसका ७७ वटै जिल्ला कार्य समितिहरूले जिल्ला सदरमुकाममा प्रदर्शन गरेका हुन् ।

आजको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको फैसला कांग्रेसलाई मान्य हुने बताएका छन् । आज कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यसो गर, उसो गर भन्न नमिल्ने बताउँदै अदालतको निर्णय पर्खन सबैमा निवेदन गरे । देउवाले निर्वाचन आयोगले जेठसम्म जसरी पनि निर्वाचन गराउनै पर्ने बाध्यता रहेकाले जति सक्दो छिटो कार्यतालिका सार्वजनिक गर्नु पर्ने पनि बताए । सभापति देउवाले सभालाई सम्बोधन गर्ने क्रममा नेकपाको झगडाले देशलाई बन्दी बनाएको भन्दै ओलीले वैशाखसम्म चुनाव गराउँछु गराउँछु भनेका छन् तर निर्वाचन आयोगले केही नबोलेको प्रति शंका व्यक्त गरेका थिए ।

नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानाशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गरेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्कीमा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको टिप्पणी पनि गरे । नेता सिंहले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास पनि व्यक्त गरे ।  

यस्तै नेता गगन थापाले भइरहेको बहुमतको संसद् भंग गरेर दुई तिहाई सिट ल्याउने प्रधानमन्त्रीको बोलीलाई ‘धाक’को संज्ञा दिएका छन् । चितवनमा कांग्रेसले गरेको सभामा नेता थापाले दुई नेकपाले मुलुकलाई भिडन्ततिर लैजाने प्रयास गरेको बताउँदै अब, दुई नेकपालाई सम्हाल्ने अवसर समयले कांग्रेसलाई दिएको दावी पनि गरे । यद्यपि नेपाली कांग्रेस संसद् ब्युँत्याएर मात्रै चुनावमा जाने थापाको भनाइ थियो । सभामा सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी ओली शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारीको हिसाबकिताब हुने प्रष्ट्याएका थिए ।

Logo