शेयर बजारमा आज नयाँ रेकर्ड, नेप्से २ हजार ६ सय विन्दु नाघ्यो

शेयर बजारमा आज नयाँ रेकर्ड, नेप्से २ हजार ६ सय विन्दु नाघ्यो


सोमबार ९२ अंकले बढेर नयाँ रेकर्ड बनाएको शेयर बजारले मंगलबार सो रेकर्डलाई तोड्दै २ हजार ६ सय विन्दुमाथिको नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार नेप्से सूचक १५.५० अंकले बढेर २ हजार ६ सय १.५१ विन्दुमा पुगेको छ । यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो । त्यस्तै मंगलबार सेन्सेटिभ सूचक पनि ४.०९ अंकले बढेको छ ।

साताको तेस्रो दिन कारोबार रकम पनि १० अर्बमाथि पुगेको छ । मंगलबार २०८ वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर र १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैंयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन कारोबारमा आएका ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ । ७ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।

मंगलबार बैंकिङ समूहको सूचक बढ्दा नेप्सेलाई नयाँ रेकर्ड कायम गर्न सहयोग पुगेको हो । मंगलबार बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै २.०८ प्रतिशतले बढेको छ भने विकास बैंक र अन्य उपसमूहको सूचक पनि क्रमशः ०.२४ र ०.२७ प्रतिशतले बढेको छ। उत्पादनमूलक उपसमूहको सूचक भने सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेको छ ।

मौद्रीक नीतिको समिक्षामा शेयर बजारलाई असर गर्ने कुनै नीति परिवर्तन नभएपछि सोमबार एकैदिन बजार ९२ अंकले बढेको थियो । उच्च अंकले बढेको बजारमा मंगलबार भने प्रोफिट बुक गर्ने लगानीकर्ता बढेपछि केहि उपसमूहमा सामान्य करेक्सन देखिएको छ।

मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन चन्द्रागिरि हिल्स, नेपाल इन्फ्रास्टक्चर बैंक, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सनराइज फस्ट म्युचुअल फण्ड र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी सिद्धार्थ बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक र एनएमबि बेंकको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ । यता साधना लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.१५ प्रतिशतले घटेको छ भने पाँचथर पावर कम्पनीको ५.६६ प्रतिशत, बरुण हाइड्रोपावरको ५.५६ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.०६ प्रतिशत र महुली सामुदायीक लघुवित्तको ४.७४ प्रतिशतले घटेको छ ।

मंगलबार नबिल बैंकको सबैभन्दा धेरै ५४ करोड ४४ लाख रुपैंयाँ बराबरको शेयर कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको ४३ करोड ५० लाख, नेपाल बैंकको ३९ करोड १६ लाख र नेको इन्स्योरेन्सको ३७ करोड ३४ लाख रुपैंयाँ बराबरको शेयर कारोबार भएको छ।

Logo