द्रुतमार्गको निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको सेनाको दावी

द्रुतमार्गको निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको सेनाको दावी


नेपाली सेनाले काठमाडौँ–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दावी गरेको छ ।  

संघीय संसद राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौँ–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्का विषयमा परेको उजुरीमाथि भएको छलफलमा नेपाली सेनाले द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको दावी गरेको हो । समितिमा काठमाडौँ–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्नका लागि नेपाली सेनाले पूर्व योग्यता निर्धारण गर्न मागेको आवेदनमा आवश्यकभन्दा कम कम्पनीहरु छानिएको भन्दै उजुरी परेको थियो । नेपाली सेनाले पूर्व योग्यता परिक्षणमा नेपाली कम्पनी बाहिर पारिएको भन्दै विरोध भइरहेको छ ।  

यसै विषयमा समितिले द्रुतमार्ग हेर्ने नेपाली सेनाका अधिकारीहरुलाई बोलाई स्पष्टिकरण लिएको हो । छलफलमा नेपाली सेनाका महासेनानी एवं खरिद व्यवस्थापन महाशाखाका प्रमुख सुनिलसिंह राठोरले सार्वजनिक खरिद ऐनअनुसार नै पूर्व येग्यता निर्धारण गरिएको बताए । आयोजनाको निर्माण कार्य वि.सं. २०८१ मा सम्पन्न गर्नुपर्ने भएकाले तत्काल टेण्डर आव्हान गरी निर्माण कार्यलाई तिब्रता दिने प्रक्रिया शुरु गरिएको पनि उनले जानकारी दिए । नेपाली सेनाले पूर्व योग्यताका लागि २०७६ फागुन ३० गते सार्वजनिक रुपमा आवेदन आव्हान गरेको थियो ।  

Logo