सरकारसँग कांग्रेसले माग्यो कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाकासहितको स्वेतपत्र

सरकारसँग कांग्रेसले माग्यो कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाकासहितको स्वेतपत्र


नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाका सहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भिर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोपको सुनिश्चितता दिनेगरी कार्ययोजनासहितको स्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो । कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले स्पष्ट खाकासहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् । खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनु पर्ने र त्यसको विश्वसनियताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेको पनि उनले बताए ।  

उनले भने,  ‘खोप खरिद गर्नुपर्ने खण्ड छ भने त्यो खरिद प्रक्रिया पनि पारदर्शी, सुरक्षा र विश्वसनियताको बारेमा पनि नेपाली जनतालाई सुनिश्चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाकासहितको विस्तृत समयकालिन कार्यतालिकासहित, स्रोत सहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नु पर्छ । यो हामी माग गर्छौं ।’

खोप लागउने विषयमा सरकार गम्भिर नभएको पनि सह–महामन्त्री महतले बताए । भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिए पनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाइ छ । उनले भने,  ‘पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरुले तयार गरेका छन् त्यो खोप नेपालमा खोप लगाउने विषयमा सरकार गम्भिर भइराखेको छैन । भारतले १० लाख निःशुल्क दिएको कुरा छ र त्यो खोप दिन थालिएको भनिएको छ । तर पारदर्शी कार्ययोजना आएको छैन । सरकारले प्रस्तुत गरेको छैन ।’

सबैभन्दा पहिला अग्रपंक्तिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठिक भएपनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको बताए। निःशुल्क खोप कहाँकहाँबाट आउँदैछ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नु पर्ने पनि सह–महामन्त्री महतले बताए ।  

Logo