राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमा ग्रहण : पूर्वराष्ट्रपति

राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमा ग्रहण : पूर्वराष्ट्रपति


पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको लोकतन्त्रमा ‘ग्रहण’ लागेको बताएका छन् । शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बिपी कोइराला तथा बिपी विचार–संग्रह पुस्तकको जनकपुरधाममा शुक्रबार लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रपति र प्रधानमन्त्रीको कदमले नेपालको लोकतन्त्रमा ग्रहण लागेको बताए ।

‘मुलुकको इतिहासमा पटक–पटक लोकतन्त्रमा ग्रहण लाग्यो,’ पूर्व राष्ट्रपति डा. यादवले भने, ‘एकपटक फेरि ग्रहण लागेकाले लोकतन्त्रलाई बचाउन सबैले मिलेर भूमिका खेल्नुपर्छ ।’ राजनीतिक दलहरू लोकतन्त्रको खम्बा रहेको बताउँदै पूर्व राष्ट्रपति डा. यादवले भने, ‘तर, अहिले सबभन्दा ठूलो दल नै विभाजित छ भने अर्को दोस्रो ठूलो दल नेपाली कांग्रेस पनि ठीक अवस्थामा छैन ।’

राष्ट्रपति भण्डारीले निष्पक्ष हुनुपर्नेमा कुनै खास पार्टीको सदस्यजस्तो कुनै दलसँग परामर्श नै नगरी संसद् विघटन गरेको पूर्वराष्ट्रपति डा. यादवले आरोप लगाए । ‘पार्टीभित्रको विवाद समाधान नगरी प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभयो, तर राष्ट्रपतिले कुनै दलसँग परामर्श नगरी संसद् विघटनका सबै संवैधानिक प्रक्रिया मिचेर प्रधानमन्त्रीको सिफारिसलाई एकै पटक अनुमोदन गर्नुभयो,’ पूर्व राष्ट्रपति यादवले भने ।

राष्ट्रपति भण्डारीले संविधानको रक्षा नगरेको पूर्व राष्ट्रपति यादवको भनाइ छ । चुनाव गराउने नाममा असंवैधानिक कार्य भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति डा. यादवले भने, ‘चुनावका नाममा संविधानको खिल्ली उडाउने कि संविधानलाई बचाउने ? संसद् पुनस्र्थापना भएन भने देश कता जान्छ ? नयाँ पत्रिका दैनिकमाा समाचार छ ।

Logo