‘संसद विघटनले जटिलता निम्त्यायो, अबको विकल्प ताजा जनादेश’ : कमल थापा 

‘संसद विघटनले जटिलता निम्त्यायो, अबको विकल्प ताजा जनादेश’ : कमल थापा 


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावाद चक्रको अन्त्यका निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार ब्यक्त गरे । अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गरे । 

सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो । 

१४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा  स्वार्थ र शक्तिको फोहोरी राजनीतिले काम गरेको उनको भनाइ थियो । कम्युनिस्ट पार्टी भित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो। 

कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई काङ्ग्रेस र कम्युनिस्टको विकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गरे। लिङ्देनले भ्रष्टाचार र बेथितिको    विरुद्धमा राप्रपाले सशक्त आवाज उठाएर जनताको माझमा जाने बताए । कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजवंशी, अम्बर विष्ट ,बाशुदेव भट्टराई , बाबुराजा श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

Logo