ओलीको साइबर सेना बनेर काम गर्ने युवा संघको निर्णय

ओलीको साइबर सेना बनेर काम गर्ने युवा संघको निर्णय


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताएका हुन् । सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओली विरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने पनि प्रष्ट पारे । आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिग्भ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताए । 

यस्तै अध्यक्ष सिंहले आगामी चैत मसान्त भित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरु र वडाहरुमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको समेत बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्न र पार्टीलाई सहयोग गर्न बर्दी बिनाको सेनाको रुपमा ५ लाख सदस्यता वितरण गर्ने पनि सिंहले बताए । 

प्रचण्ड–माधव समूहको सत्ता मोहका कारण जनतामा निरासा छाइरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिने समेत अध्यक्ष सिंहले बताए। आगामी बैशाख १७ र २७ गते हुन गइरहेको मध्यावधि निर्वाचनमा युवा संघ नेपाल केन्द्रीत हुने पनि उनले बताए । सरकारलाई गरिएको घेरावन्दीलाई चिरफार गर्दै राष्ट्रिय युवा संघ नेपालमा कुनै धार, गुट र समूह बन्न नदिने पनि अध्यक्ष सिंहले बताए। 

Logo