नेपालमा सुन तस्करीको नालीबेली : प्रशासनको तथ्यांकमा के छ ? (भिडियोसहित)

नेपालमा सुन तस्करीको नालीबेली : प्रशासनको तथ्यांकमा के छ ? (भिडियोसहित)


०७७ माघ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा ल्याइएको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा कतारबाट आएका सुवास गुरुङ र सुन जिम्मा लिन विमानस्थल पुगेका तनहुँका टकबहादुर गुरुङ थिए । सुवासले कतारबाट आउँदा बच्चाले लगाउने डाइपरमा लुकाएर ल्याएको अवस्थामा ३४४ दशमलव ९९ ग्राम सुन बरामद भएको हो । यस्तै गत कात्तिकमा प्रहरीले वीरगञ्जबाट २३ केजी सुन बरामद गरेको थियो । यसैगरि ०७६ मंसिर १२ गते हङकङबाट आएका दुई चिनियाँ नागरिक ८ केजी सुनसहित विमानस्थलबाट पक्राउ परेका थिए ।

यी केही प्रतिनिधि घटना हुन् । हिजोआज सुन तस्करी सामान्य जस्तै बन्न थालेको छ । विशेषगरि त्रिभुवन विमानस्थल, तातोपानी नाका तथा रसुवागढी नाकाबाट यस्ता क्रियाकलाप बढ्न थालेको प्रहरीले बताउँदै आएको छ । घटना हुनु सामान्य जस्तै भएपनि यो कसरी र कहाँबाट कहाँ लैजानका लागि गरिएको हो भन्नेमा स्वयं प्रहरीनै बेखबर रहनु भने पक्कै पनि सामान्य होइन । पछिल्ला केहि वर्ष यता हरेक महिना जसो सुन तस्करीका घटना हुँदै आएपछि यसले प्रहरी प्रशासनलाई नै चुनौती थपेको छ । यस्ता घटनामा पक्राउ पर्ने मानिस कि भरिया छन् कि सामान्य नागरिक । ठूला तस्करीहरु अहिलेसम्म सार्वजनिक नहुनु र तस्करीका घटनामा पनि कमी नआउनु, यसले नेपालको सुरक्षा निकायलाई फलामको चिउरा चपाउनु जस्तै चुनौती थपिदिएको छ । 

नेपाल प्रहरीले दिएको एक तथ्यांक अनुसार बिगत ७ वर्ष यता सुन तस्कर र भरिया गरी ४ सय ८३ जना पक्राउ परेका छन् । सो समय अवधिमा प्रहरीले तातोपानी नाका, रसुवागढी नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतबाट भित्रिन लागेको करिब ६ सय किलो अवैध  सुन बरामद गरेको छ । यो त ७ वर्षको मात्रै तथ्यांक हो । त्यस अघिको तथ्यांक त कति छ पत्तो छैन । यो त प्रहरीले पत्ता लगाएको मात्र हो, पत्ता लगाउनै नसकेको सुनको बारेमा कसलाई के थाहा ?

कहिले कति बरामद ?

तथ्यांक अनुसार आर्थिक वर्ष ०७१/०७२ मा १११ केजी सुन बरामद भएको थियो । यस्तै ०७२/०७३ मा ६८ किलो ५ सय ग्राम अवैध सुन बरामद भयो । वर्ष ०७३/०७४ मा ९१ किलो ३ सय ८४ ग्राम, ०७४/७५ मा १ सय ७९ किलो २ सय ४७ ग्राम र ०७५/०७६मा आर्थिक वर्षको बैशाख मसान्तसम्म ८६ किलो ८ सय ५२ ग्राम अवैध सुन प्रहरीले बरामद गरेको थियो । ०७६/७७ मा ३८ केजी र यस आर्थिक वर्षको पुष मसान्तसम्म ३० केजी सुन बरामद भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

सुन बरामदका मुख्य घटना सम्झने हो भने ०७५ फागुन २ गते कञ्चनपुरबाट १८ केजी अवैध सुन बरामद भयो । सोहि दिन सोहि ठाउँबाट थप ५ केजी ६ सय ग्राम सुन बरामद भयो । फागुन ३ गते रसुवाबाट ४ केजी अबैध सुनसहित एकजना पक्राउ परे । देशका विभिन्न नाकाहरुबाट हिजोआज सुन बरामद हुनु सामान्य जस्तै भइरहेको छ । तर यसले देशकै गलत सन्देश प्रवाह मात्रै गरेको छैन, समग्ररुपमा अर्थतन्त्रलाई समेत प्रभावित बनाएको छ । 

सुन आयातको बाध्यता

बहुमुल्य पहेंलो धातु सुन अहिलेसम्म नेपालमा उत्खनन भएको छैन । जसले गर्दा सुनका लागि नेपालले बाहिरी मुलुकको भर पर्नु परेको छ । र खरिदका लागि वर्षेनी अर्बौं रुपैयाँ विदेश पठाउनु हाम्रो बाध्यता रहेको छ । हुन त नेपालकै केहि ठाउँमा सुन खानीको सम्भाव्यता रहेको अनुमान गरिएको छ । तर त्यसको उत्खनन् गर्न भने धेरै पैसा र दक्ष प्राविधिक जनशक्तिको आवश्यक पर्छ । जुन नेपालको हैशियत भन्दा धेरै माथिको कुरा हो । 

पछिल्लो एक तथ्यांक अनुशार नेपालमा वर्षेनी करिव ३० अर्ब रुपैयाँ भन्दा धेरैको सुन खरिद गरिने गरिएको छ । हाल स्थानिय बजारमा सुनको मुल्य प्रतितोला ९२ हजार भन्दा माथि छ । अहिले दैनिक १० केजी सुन खपत हुन्छ । विगतको भन्दा यो झण्डै एकतिहाईले कमी हो । सुनको मूल्यमा उतारचढाव भएपनि यसमा लगानी गर्नेहरुको भने कमी छैन । पछिल्ला दिनहरुमा नेपाली बजारमा भन्सार छलेर ल्याइएको सुन विक्री वितरण हुन थालेको र यसले गर्दा बैंकहरुले खरिद गरेर ल्याएको सुनको परिमाण धेरै मात्रामा थन्किएको छ । ३ वर्ष अघिसम्म दैनिक ४५ केजी सम्म सुनको खपत हुने गरेको र अहिले घटेर १० देखि १५ केजीमा झर्नुको मुख्य कारणनै अवैध सुनको आयात भएको पाइएपनि यसको नियन्त्रण भने हुन सकेको छैन । अहिले पनि अबैध बाटो हुँदै सुन भित्रिरहेको छ । 

कहिले कति सुन आयात ?

विगत ८ वर्ष यता नेपालमा बैधानिक रुपमा भित्रिएको सुनको मुल्य करिव १ खर्ब ५० अर्ब हाराहारीमा छ । तर अवैधरुपमा कति सुन भित्रियो त्यो कसैलाई पनि थाहा छैन । आर्थिक वर्ष ०६८/०६९ मा २५ अर्ब ७७ करोड मूल्य बराबरको सुन वैधानिकरुपमा भित्रिएको थियो । त्यस्तै वर्ष ०६९/०७० मा २६ अर्ब ११ करोड र ०७०/०७१ मा २४ अर्ब ७९ करोड मूल्यको सुन भित्रियो । ०७१/०७२ मा ६ अर्ब ३८ करोड मूल्य बराबरको अर्थात् १ हजार ६५० केजी मात्र सुन आयात गरिएको थियो । त्यस्तै आर्थिक वर्ष ०७२/०७३ मा भूकम्प र नाकाबन्दीका कारण पहिले जस्तो सुन आयात भएन । यसवर्ष १६ अर्ब ७ करोड रुपैयाँ बराबरको अर्थात ४ हजार १ सय केजी सुन आयात भएको तथ्यांकले देखाउँछ । ०७३/०७४ मा ३२ अर्ब १३ करोड अर्थात ६ हजार ४ सय ५५ केजी सुन वैधानिक बाटोबाट नेपाल भित्रिएको थियो । 

आर्थिक वर्ष ०७४/७५ मा ७ हजार ३ सय १० किलो सुनको आयात भएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा ७ हजार ४ सय ५० किलो सुन आयात भएको थियो । चालु आर्थिक वर्ष ०७७/७८ को पुस मसान्तसम्ममा १२ अर्ब १६ करोड ७ लाख रुपैयाँ बराबरको १७ सय केजी सुन आयात भएको छ । यो गत वर्षको तुलनामा २ सय ५० केजी बढी आयात भएको हो । गत वर्ष ७ अर्ब ८८ करोड १६ लाख रुपैयाँ बराबरको १४ सय ५० केजी सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

तस्करहरुको सजिलो बाटो

विगतमा तस्करहरुले चीनको खासाबाट भित्रिने विभिन्न सामान र कपडाहरुमा लुकाएर नेपाल ल्याउने गरेको सुन प्रहरीले विभिन्न स्थानबाट बरामद गर्ने क्रमसँगै तातोपानी सुन तस्करहरुको ट्रान्जिट प्वाइन्टको रुपमा चिनिदै आएको थियो । ०७१ मंसिर महिनादेखि माघसम्म मात्र झण्डै ४५ किलोग्रामभन्दा वढी अवैध सुन तातोपानीबाटै बरामद भयो । पुरानो इतिहास हेर्ने हो भने तातोपानी नाका हुँदै नेपाल ल्याइएको अवस्थामा बाह्रविसेबाट ०५८ साल पुस २३ गते पहिलो पटक १ किलो सुन प्रहरीले बरामद गरेको थियो । त्यसयता सोही नाकाबाट भित्रिएको सुन विभिन्न परिमाणमा २५ भन्दा धेरै पटक बरामद भईसकेको छ । त्यस नाकाबाट ०७१ माघसम्म करिव २ सय किलो सुन अवैध रुपमा नेपाल ल्याईंदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । ०७१ पछि अहिलेसम्म सोही नाकाबाट थप १ सय ५० केजी सुन बरामद भएको छ । 

तातोपानीमा मात्र होइन, पछिल्ला दिनहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि सुन तस्करी हुने क्रम वढेको छ । यहाँबाट ०७२ माघ २१ गते १२ केजी सुन बरामद गरिएको थियो । ०७३ पुस २१ गते बरामद भएको साढे ३३ केजी सुनकाण्ड त अझै पनि सेलाएको छैन । यसभित्र कसको र कति मिलेमत्तो छ भन्ने अझै छानबिनकै क्रममा रहेको छ । उता ०७४ भदौ १९ गते राजधानीबाटै बरामद भएको अहिले सम्मकै ठूलो परिमाण ८८ केजी सुनको पनि अझै छानबिन सकिएको छैन । सो दिन राजधानीको क्षेत्रपाटीबाट सो परिमाणको सुनसहित बा १७ च ६४२७ नं. का गाडी चालक मनोज अधिकारी पक्राउ परेका थिए । सो सुन रसुवाको केरुङ्गनाकाबाट ल्याइएको थियो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सिआइबी ) ले १५ किलो सुनसहित सोही भदौ १५ गते सात जनालाई पक्राउ गरेको थियो । चीनबाट भित्रिएको २२ किलो अवैध सुनमध्ये १५ किलो मात्रै बरामद भएको थियो । सामाखुसीबाट १४ किलो र जनकपुरबाट १ किलो गरि १५ किलो सुन नियन्त्रणमा लिइयो । यसरी पटक पटक सुन तस्करीका घटनाहरु सार्वजनिक भइरहँदा पनि यो श्रृंखला रोकिएको छैन । यसबाट तातोपानी र केरुङ्गनाकालाई सुन तस्करहरुले ट्रान्जिट प्वाइन्टकै रुपमा लिने गरेको प्रष्टै छ ।

यता वीरगञ्ज भन्सार लगायत देशका अन्य नाकाहरुबाट पनि अवैद्य सुन नेपाल भित्रिने क्रम रोकिएको छैन । यसरी भित्रिएको सुन व्यापारीहरुले सस्तोमा खरिद गर्दै आएका छन् । बुझ्नमा आए अनुसार प्रतिकेजी ४ लाख रुपैयाँदेखि ६ लाखसम्म सस्तोमा अवैध सुन खरिद गरि व्यापारीहरुले साविक मूल्यमै बेच्ने गरेका छन् । जसले गर्दा यतिबेला करिव ४ सय केजी वैधानिक सुन विभिन्न वाणिज्यबैंकहरुमा थुप्रिएको छ । 

अहिले सुन आयातमा सरकारले कडाई गरेको छ । यसमा लाग्दै आएको भन्सारमा पनि वृद्धि गरिएको छ । वैदेशिक रोजगारीमा जानेहरुले विगतमा विना भन्सार ५० ग्राम सम्मको सुन ल्याउन पाउने गरेको भएपनि गतवर्ष देखि १० ग्राम भन्दा धेरै ल्याउन प्रतिबन्ध छ । तैपनि वैधानिक सुनको खपत नवढ्नुले अझै पनि अवैध सुनले बजार पाइरहेको प्रष्ट देखिन्छ । 

सुन चल सम्पत्ती हो । यसको खरिदका लागि न्यून आय भएकाहरुलाई कठिन नै छ । हाल नेपालको प्रतिव्यक्ति आय ९६५ अमेरिकी डलर छ । यो भनेको दैनिक आवश्यकताका वस्तु जुटाउन पनि अहिलेको महंगीमा धौ धौ पर्ने अवस्था हो । यस्तो स्थितीमा सुनको खरिद गर्न सर्वसाधारणलाई निकै कठिन पर्छ । सम्पन्न र घरानिया व्यक्तिले मात्र यस्तो वस्तुमा लगानी गर्न सक्छ तैपनि वार्षिक ३० अर्ब सम्मको कारोबार हुनुलाई भने बजार नै खस्किएको मान्नु पर्ने अवास्था भने रहँदैन । 

विलासिताको वस्तुको रुपमा रहेको सुनको खरिद विक्री यति मात्रामा हुनु नेपाल जस्तो मुलुकका लागि सन्तोषजनक रुपमै लिनु पर्ने हुन्छ । तर सुनमा गरिने लगानी कुनै उत्पादनमुलक लगानी भने पक्कै होइन । केहिवर्ष विदेश गएर फर्कनेहरु पनि कमाएको पैसा सुन र जग्गामा लगानी गर्छन् । यसले खासै फाइदा भने दिंदैन । त्यसैले लगानी गर्दा छिट्टै प्रतिफल आउने क्षेत्रमा गर्न सक्ने हो भने यसले दीर्घकालिन फाइदा पुग्न सक्नेछ । सुनमा वढेको तस्करीतन्त्रलाई कडाई गर्न सक्ने हो भने यसले समग्र देशको अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्नेछ । अवैध सुन रोक्न सके वैधानिक सुनको स्थान उच्च रहन सक्नेछ । यतातिर सरकार र प्रशासनको ध्यान जाने हो भने अवैध सुनको परिमाण घटाउन उल्लेख्य सहयोग पुग्नेमा दुईमत रहन्न । 

Logo