आयल निगमको नियतमा शंका: नाफा हुँदा लाभांश वितरणको हतारो, घाटा हुँदा मूल्यबृद्धिको चटारो

आयल निगमको नियतमा शंका: नाफा हुँदा लाभांश वितरणको हतारो, घाटा हुँदा मूल्यबृद्धिको चटारो


पछिल्लो समय देशमा राजनीतिक अस्थिरता छाएको छ । यसको शिकार भने नागरिक हुने गरेका छन् । अहिलेको राजनीतिक अस्थिरताले निम्त्याएको महंगीको भार सरकार आफैंले जनतालाई थोपर्न थालेको हो । 

सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले पछिल्लो राजनीतिक अस्थिरताको फाइदा उठाउँदै नियम भन्दा विपरित एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक १५ दिनमा तेलको मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ । तर यो व्यवस्था विपरित निगम घाटामा गएको भन्दै मूल्यबृद्धि गरेको छ । निगमले गत माघ २८ गते पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो । यसको एक साता भित्रै फागुन ४ गते पुनः मूल्य बढाएको छ । 

निगमले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि गरिएको लकडाउनको समयमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य न्यूनतम विन्दुमा आउँदासमेत ४ महिनासम्म मूल्य समायोजन समेत नगरी नाफा कमाएको थियो । तर, अहिले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएकाले साविकको मूल्यमा बेच्दा निगमलाई घाटा भएको भन्दै हप्तामा दुई पटक मूल्य बृद्धि गरेको छ । 

आयल निगमले गत मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ) को समेत मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगम घाटामा जाने भन्दै तेलको मूल्य बढाएको निगमले जनाएको छ । 

निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ भने मट्टितेलमा मात्रै नाफा रहको छ । यसरी तेल बेच्दा घाटामा गएको देखाउने निगमले कर्मचारीलाई करोडौं नाफाबाट बोनस बाड्ने तर थोरै घाटा हुँदा तेलको मूल्य बढाएर जनतालाई आर्थिक भार थप्ने काम गरिरहेको छ । त्यतिमात्रै नभएर विगत केही समयदेखि विभिन्न ठूला ठूला परियोजना निर्माणको काम बिना टेण्डर आफू निकटलाई दिंदै आएका समाचारहरु समेत बाहिर आएका छन् ।

पछिल्लो समय निगमको नियतमाथि नै शंका पैदा हुन थालेको छ । निगमलाई नाफा हुँदा कर्मचारीलाई लाभांस वितरण गर्न हतारो भए जस्तै घाटा भयो भन्दै मूल्यबृद्धि गर्ने चटारोमा व्यस्त हुन थालेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले पेट्रोलियम पदार्थको मूल्य एक हप्तामा दुई पटक बृद्धि गरेको बताएका छन् । उनले निगमले १५ दिनमा एक पटक मूल्य समायोजन गर्ने नीति लिएकाले मात्रै यस्तो भएको हो तर भारतमा दैनिक मूल्य समायोजन हुन्छ, त्यसैले यो अन्तर्राष्ट्रिय मूल्यको आधारमा दैनिक समायोजन हुन सक्ने विषय भएको बताएका छन् ।

गत १ तारिखमा नै मूल्य बढेर आएकाले यो समायोजन भएर आएको समयमा निगम ‘पर्ख र हेर’ भन्ने अवस्थामा रहेको भएपनि निरन्तर मूल्यबृद्धि हुने देखिएपछि नेपालमा पनि बढाइएको उनले बताएका छन् । 

त्यस्तै, निगमका नायव निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्नु निगमको नियमित प्रक्रिया रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि त्यसको प्रभाव परेको बताए । उनले भने, ‘महिनामा दुई पटककै नियम रहेको तर यो पटक १५ दिनको ग्याप कम भएर एक हप्तामा दुई पटक हुन गएको हो ।’

दुई महिना अघि मात्रै कर्मचारीलाई साढे १५ करोड रुपैयाँ बोनस

आयल निगमले दुई महिना अघि पुस महिनामा मात्रै कर्मचारीलाई साढे १५ करोड रुपैयाँ बोनस वितरण गरेको थियो । आर्थिक वर्ष २०७४/०७५ र आर्थिक वर्ष २०७५/०७६ गरि दुई आर्थिक वर्षकोे बोनस शीर्षकमा छुट्याएको करिब १५ करोड ५९ लाख रकम बोनस वितरण गरेको थियो । निगमका कर्मचारीले बोनसबापत प्रतिव्यक्ति ३० देखि ६० हजार रुपैयाँ लाभांश पाएका छन् ।

ऐन अनुसार नाफाको एक प्रतिशत कर्मचारीलाई बोनसका रूपमा वितरण गर्नु पर्ने व्यवस्था छ । पछिल्लो सात वर्षदेखि निगम लगातार नाफामा गएपछि ३ अर्ब ४७ करोड ३२ लाख ९९ हजार ३ सय ३८ रुपैयाँ बोनस रकम जम्मा गरेको छ । गत आर्थिक वर्ष निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा हासिल गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४ अर्ब १२ करोड रुपैयाँ बढी हो । अघिल्ला वर्षहरूको नाफाबाट प्राप्त ब्याज, पाइपलाइनका कारण बचेको ढुवानी खर्च र गतवर्ष ग्यासमा भएको बचतले निगमको नाफा बढेको निगमले जनाएको छ । 

निगमले वार्षिक दुई खर्ब भन्दा बढीको इन्धनको कारोबार गदै आएको छ । इन्धन कारोबार गरेर निगमले सरकारलाई ६६ अर्ब ८८ करोड राजस्व समेत बुझाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण यातायात भाडा बृद्धि हुँदै

हवाइ इन्धनको मूल्यबृद्धि भएसँगै वायुसेवा संचालकहरुले हवाई भाडा बृद्धि गरेका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँका दरले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा पनि बृद्धि गरिएको हो । हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेकाले शनिबारबाट नै लागू हुने गरि मूल्य परिमार्जन गरिएको संघले जनाएको छ । 

यता यातायात व्यवसायीहरुले पनि तेलमा भएको मूल्यवृद्धिका कारण ४० प्रतिशतसम्म भाडा बढाउनु पर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले भाडा बढाउन माग गरेका हुन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक–पटक तेलको मूल्यमा भएको बृद्धि एकमुष्टरुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरि अल्टिमेटम दिएको छ ।

सरकारले एक हप्तामै दुईपटक लिटरमा ४ रुपैयाँ मूल्यबृद्धि गरेको र कोरोना महामारीको मारमा परेको व्यवसायलाई थप मार पर्ने गरि पटक–पटक तेलको मूल्यवृद्धि गर्दा यातायात व्यवसायीहरुले महंगीको भार थेग्न सकिने अवस्था नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

कोरोना महामारीमा परेका जनता र पेशा व्यवसाय गर्नेमाथि पटक–पटक भइरहेको मूल्यवृद्धिले थप आर्थिक भार परेको र मनलाग्दी तवरले गरेको मूल्यवृद्धिले यातायात व्यवसाय थला पर्ने अवस्था आएको उनको भनाइ छ ।

Logo