‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन निर्वाचन आवश्यकः मन्त्री शाह

‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन निर्वाचन आवश्यकः मन्त्री शाह


शहरी विकासमन्त्री प्रभु शाहले निर्धारित समयमा नै निर्वाचन हुने बताएका छन् ।

रौतहटको संसदीय निर्वाचन क्षेत्र नं २ अन्तर्गत तेजापाकडमा आयोजित नेकपाको क्षेत्रीय भेलालाई सम्वोद्धन गर्दै उनले सरकारले घोषणा गरेको पहिलो चरणको आगामी वैशाख १७ र दोस्रो चरणको वैशाख २७ गते नै चुनाव हुने दाबी गरे।

मन्त्री शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने तर पूर्व राजा ज्ञानेन्द्रको खुट्टामा दाम चढाउने पूर्वप्रधानमन्त्री माधव नेपाल कसरी अग्रगमनकारी भए भन्दै प्रश्न गरे । उनले नेता नेपाल चुनाव हारेर प्रधानमन्त्री र अधिवेशनमा हारेर पार्टी अध्यक्ष कुन नैतिकताले बन्ने गरेका छन् भनी प्रश्न गरे ।

मन्त्री शाहले आफनै पार्टीको सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रवृतिले गर्दा निर्वाचनमा जानुपर्ने बाध्यता आइपुगेको बताउँदै निर्वाचनपछि नेकपा थप बलियो भएर जाने विश्वास व्यक्त गरे। उनले यसअघि आफू शहरी विकासमन्त्री हुँदा देशमा रु ५० अर्ब बराबरको भौतिक पूर्वाधार निर्माण गराएको बताउँदै यस पटक पनि रौतहट, मधेश र देशकै विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।

मधेशबादी दलप्रति अत्यन्तै आक्रोश ब्यक्त गर्दे उनीहरुले समग्र मधेशीको बदनाम गराएको टिप्पनी गरे। प्रदेश २ मा वार्षिक रु ४० अर्बको बजेटको हिसाबले एउटा जिल्लाको हकमा वर्षको रु पाँच अर्ब पर्छ उनले भने प्रदेशले रौतहटमा एक ईन्च पनि कतै कालोपत्रे अथवा ठोस पूर्वाधार निर्माण गरेको छैन ।

यसअघि मन्त्री साहले शनिबार नै बौधीमाई नगरपालिका सरमुजवास्थित स्वास्थ्य भवनको पनि उद्घाटन गरे । शहरी विकास मन्त्रालयको कूल रु एक करोड ७५ लाखको लागतमा दुईतले भवन निर्माण भएको सघन शहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रन्जन दासले जानकारी दिए। 

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, तत्कालिन संविधानसभा सदस्य बब्बन सिंह, अबुल कलाम, नेकपाका केन्द्रीय सदस्य कपिलदेव पटेल, जयचन्द पटेल, उपेन्द्र साह, प्रदेश कमिटि सदस्य त्रिभूवन साह, मनोज यादव, राजकिशोर यादव, मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता, देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी, मौलापुरका नगरपालिकाका उपप्रमुख गौरीशंकर जयसवाल लगायतले मधेशको विकास र मधेशीको अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक कसैले दिन नसक्ने बताए। 

कार्यक्रममा कांग्रेस र जसपा लगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई मन्त्री साहले माला तथा टीका लगाएर स्वागत गरे।रासस

Logo