कांग्रेसका पूर्वसांसद रानाभाटको निधन

कांग्रेसका पूर्वसांसद रानाभाटको निधन


पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो । 
 
उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो ।  रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट वि.सं. २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार वि.सं. २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उहाँको जन्म भएको थियो । 
     
रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गरेका थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ । 
 
कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उनको निधनले सिङ्गो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताए । उनका अनुसार बिहान ८ः३० बजेदेखि एक घण्टा उहाँको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ । 

Logo