पहिलो टी–२० मा न्युजिल्याण्डसँग अष्ट्रेलिया पराजित

पहिलो टी–२० मा न्युजिल्याण्डसँग अष्ट्रेलिया पराजित


न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको पाँच खेलको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको छ । क्राइस्टचर्चमा सोमबार भएको खेलमा घरेलु टिम न्युजिल्याण्डले अष्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो । 

न्युजिल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि मिचेल मार्शले सर्वाधिक ४५ रन बनाए । यस्तै एस्टन अगरले २३ रन जोड्दा एडम जाम्पाले अविजित १३ रन बनाए ।

न्युजिल्याण्डका इश सोधीले ४ विकेट लिए । टिम साउथी र ट्रेण्ड बोल्टले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । 

न्युजिल्याण्डका लागि डेभोन कोनवेले अर्धशतकीय इनिङ्स खेले । उनले अविजित रहँदै ९९ रन बनाए । एक रनले शतक बनाउन चुकेका उनले ५९ बलमा १० चौका र ३ छक्का प्रहार गरे । 
यस्तै ग्लेन फिलिप्सले ३० रन जोड्दा जेम्स निशमले २६ रन बनाए । कप्तान केन विलियम्सन १२ रनमा आउट भए ।

अष्ट्रेलियाका डेनील साम र जे रिचार्डसनले २–२ विकेट लिए । जितसँगै पाँच खेलको सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । घरेलु टिमसँगको सिरिजका लागि अष्ट्रेलिया न्युजिल्याण्ड भ्रमणमा रहेको छ ।

Logo