ओलीको कदमलाई निरन्तरता दिएमा संविधान नै समाप्त हुने नेता देव गुरुङको चेतावनी

ओलीको कदमलाई निरन्तरता दिएमा संविधान नै समाप्त हुने नेता देव गुरुङको चेतावनी


प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट आदिवासी जनजाती संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा प्रतिनिधि सभा विघटन गरेको विरोधमा प्रचण्ड–माधव निकट आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले मंगलबार संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् । 

शान्ति बाटिकाबाट शुरु भएको प्रदर्शन भोटाहिटी, असन, इनद्रचोक हुँदै बसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य देव गुरुङले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई निरन्तरता दिएमा संविधान नै समाप्त हुने बताए । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने वित्तिकै मुलुकमा अराजकता र अस्थिरता पैदा हुने उनले बताए । त्यसपछि राज्य कमजोर हुने भएकाले अहिलेको व्यवस्था नै असफल हुने खतरा बढेको बताए । राज्य कमजोर हुँदा विदेशी शक्ति केन्द्रहरुले नेपाललाई परेड खेल्ने राज्य बनाउन सक्ने भन्दै सचेत हुनु पर्ने बताए। 

अदालत संविधानको रक्षाको लागि उभिएकाले अदालतले संविधानमा नभएको विषयको पक्षमा फैसला नगर्ने विश्वास रहेको समेत नेता गुरुङले बताए । तर प्रधानमन्त्री ओलीले न्यायालयलाई धम्क्याउने काम गरिरहेको आरोप समेत लगाए । 

विरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले ‘संविधानको रक्षा गर’, ‘वीर सहिदहरु लाल सलाम’, ‘प्रतिनिधिसभा पुनर्स्थापित गर’, ‘प्रतिगमन मुर्दावाद’, ‘भ्रष्ट्राचारीलाई कारबाही गर’, ‘उत्पीडित जातिहरुको पहिचान तथा हक अधिकार सुनिस्चित गर’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।  

Logo