प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै मुलुकभरको सुरक्षामा उच्च सतर्कता

प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै मुलुकभरको सुरक्षामा उच्च सतर्कता


सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुन सक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । 

भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताए । “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उनले भने, “संवेदनशील क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।”

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तयार पारेको स्रोतले बताएको छ । फैसला भएसँगै त्यसलाई समन्वयात्मक रुपमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । 

Logo