पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन नेताहरुलाई प्रचण्ड–माधव समूहको आव्हान  

पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन नेताहरुलाई प्रचण्ड–माधव समूहको आव्हान  


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आव्हान गरेको छ । 

बुधबार बसेको बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनैपनि कारणले फुटवादी गुटमा लागेका सबै नेता कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आव्हान गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,  ‘नयाँ सन्दर्भमा पार्टीका जति कमरेडहरु भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नु भएको छ ती सबै साथीहरुलाई मूल पार्टीमा नै फर्केर आ–आफ्नो जिम्मेवारी लिन पनि आव्हान गर्ने निर्णय गरेका छौं ।’

बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्ष समेत निकालेको प्रवक्ता श्रेष्ठले बताए । उनले भने,  ‘पार्टी एकताको पक्षमा हामी सधैं छौं । हिजो पनि थियौं । पार्टी एकता पनि जोगाउने, संविधान र लोकतन्त्रको पक्षमा र जनमुखी विकासको पक्षमा पनि जान पर्यो भनेर बहस गर्दा ओलीजी ले संविधान र लोकतन्त्रको पनि हत्या गर्न उद्दत हुनु भयो र पार्टीलाई पनि फुटाउने, चोइट्याउने, गुटवादी प्रयत्न अगाडि बढाउनु भयो । हामी त्यसको विरोध गरेका हौं र अहिले पनि हामी पार्टी एकताको पक्षमा छौं । तर पार्टी एकतालाई प्रहार गर्ने, चोइट्याउने, गुट र फुटमा रमाउने र त्यसक्रममा संविधान र लोकतन्त्रमाथि पनि आक्रमण गर्ने प्रवृतिले आफूलाई आत्मालोचक ढंगले र नयाँ रुपमा प्रस्तुत नगरेसम्म त्यो एजेन्डा खाली कुराका कुरा हुन सक्छ ।’

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनु पर्ने र त्यसो नभए संविधान अनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए । 

बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहर समेत गरेको छ । अदालतको निर्णयले प्रतिनिधिसभा पुनस्र्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको ठहर बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए। 

Logo