मलको अभाव हुन दिँदैनौंः मन्त्री अर्याल

मलको अभाव हुन दिँदैनौंः मन्त्री अर्याल


कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताएकी छिन् ।

शुक्रबार पत्रकारहरुसँगको छलफलमा मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु नपर्ने बताएकी हुन् । मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको पनि उनले जानकारी दिइन् । मन्त्री अर्यालले भारतको खुल्ला सिमानाबाट अवैध रुपमा मल भित्रिने कुरालाई बन्द गर्न नसकिने भन्दै त्यसलाई पनि प्रणालीमा ल्याउनको निम्ति प्रयत्न गरिने बताइन् ।

मन्त्री अर्यालले आफ्नो कार्यक्षेत्रभित्र नभए पनि उखु किसानको समस्या समाधान गर्न पहलकदमी लिएको बताइन् । हालसम्म ४३ करोड रुपैयाँ रकम भुक्तानी समेत भइसकेको उनले जानकारी दिइन् । मन्त्रालयले नेपाल राष्ट्रिय एकद्धार प्रणाली कार्यान्वयनमा ल्याएको, डिजिटल माटोको नक्सा शुरु गरेको, नेपाली कृषिमा इजरायलको प्रविधि प्रयोग गर्ने गरी नेपाल र इजरायलबीच समझदारी भएर काम शुरु गर्न लागेको तथा खाद्य भण्डार स्थापना गर्ने लगायतका कार्यक्रमहरु शुरु गरेको पनि जानकारी दिइन् ।

यस्तै ७ वटै प्रदेशमा रासायनिक मल भण्डार स्थापना गर्ने तयारी रहेको पनि बताइन् । किसानलाई सूचीकृत गर्ने काम सकिएको र छिट्टै सातै प्रदेशबाट एकैचोटी शुभारम्भ गर्ने तयारी भइरहेको जिकिर गरिन् । कृषि क्षेत्रमा ठेकेदारी प्रथा रहेको भन्दै मन्त्री आर्यालले त्यसलाई तोडेर अनुदानमा हुने बेतिथिलाई व्यवस्थित गर्नुपर्ने पनि उनको धारणा छ ।

किसानलाई अनुदान दिने निर्देशिका ठिक ढंगले बनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरिन् । मन्त्री अर्यालले कालिमाटी तरकारी बजारमा फोहोर व्यवस्थापन, स्टल र सवारी साधनको समस्या रहेको भन्दै त्यहाँको बेथिति अन्त्य गर्न मन्त्रालयले कार्यविधि बनाएको उनको जिकिर छ । प्रणालीभन्दा बाहिरबाट चलेका स्टलहरुलाई कुनै हालतमा बस्न नदिने उनको भनाई छ । उनले आयात र निर्यात बराबरी हुनुपर्नेमा जोड दिइन् । आयात गर्दागर्दै पनि निर्यातमा ध्यान जानुपर्ने भन्दै उनले त्यसो नगरे अन्तर्राष्ट्रिय बजार सुरक्षित नहुने जिकिर गरिन् ।

Logo