पत्रकार जमाल खाशोग्गी हत्याको विषयमा अमेरिकी गुप्तचर निकायको प्रतिवेदन सार्वजनिक

पत्रकार जमाल खाशोग्गी हत्याको विषयमा अमेरिकी गुप्तचर निकायको प्रतिवेदन सार्वजनिक


साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । यहाँको अनुसन्धानबाट तयार भएको प्रतिवेदनमा सो हत्यामा साउदी अरेबियाका राजकुमारको हात रहेको भनी आरोप लगाइएको छ । 
  
गत बिहीबार खाशोग्गी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बताइएको थियो र शुक्रबार सो अनुसन्धान रिपोर्ट अमेरिकामा सार्वजनिक गरिएको बताइएको छ । उक्त रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मूख्य भूमिका निर्वाह गरेको बताइएको छ । उसले गरेको अनुसन्धानका आधारमा यो रिपोर्ट सार्वजनिक गरेको हो । 
 
उक्त रिपोर्टमा साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानलाई हत्याको योजनामा संलग्न रहेको भनेर ठहर्याइएको समाचारमा जनाइएको छ । साउदी अरबका कट्टर आलोचक मानिने खाशोग्गी एक चर्चित पत्रकार तथा लेखक थिए । उनी ‘अल अरब’ न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत थिए भने वासिङटन पोष्टका स्तम्भकार भएर पनि काम गरेका थिए ।
 
खाशोग्गी साउदी अरेबियाको एक आलोचक भएपछि उनी सन् २०१७ को सेप्टेम्बरमा साउदी अरेबियाबाट भागेर अमेरिका पुगेका थिए ।  उनले देशबाहिर बसेर पनि साउदी अरेबिया सरकार र युवराज सलमानको आलोचना गर्दै समाचार तथा लेखहरु लेख्दै आएका बताइएको थियो । 

पछिल्लो समय वासिङटन पोस्टमा नियमित स्तम्भ लेख्दै आएका उनको हत्या सन् २०१८ मा टर्कीको स्तानबुलमा भएको थियो ।  सन् २०१८ को अक्टोबरमा टर्कीको राजधानी स्तानबुलमा रहेको साउदी अरेबियाको दूताबासमा उनको हत्या भएको हो । उनी टर्कीका एक महिलासँग विवाह गर्ने तयारीमा रहेको बताइएको थियो ।
 
उनको हत्यापछि त्यहाँ कार्यरत आठ जनाभन्दा बढी टर्की र साउदी अरेबियाका कर्मचारीलाई पक्राउ गरी कारबाही थालिएको छ । साउदी अरेबियाको अदालतले ती पत्रकारको हत्यामा संलग्न रहेको आधारमा पक्राउ गरिएको भनिएका आठ जनामध्ये पाँच जनालाई २० वर्षको जेल सजायँ सुनाएको छ । 
 
त्यसैगरी अरु तीन जनालाई सात देखि १० वर्षसम्मको जेल सजायँ सुनाइएको थियो । गत सेप्टेम्बरमा उनीहरु विरुद्ध सो कारबाही सुनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।  उता शुक्रबार सार्वजनिक भएको यो रिपोर्टको साउदी अरेबियाले भने अस्वीकार गर्दै आएको छ । साउदी अरेबियाले आफ्ना राजकुमार सो हत्यामा संलग्न भएको भनी दिएको रिपोर्टमा कुनै सत्यता नरहेको बताएको छ ।रासस

Logo