तनहुँमा ‘एग्रो कृषि टुरिजम क्षेत्र’ मार्फत पर्यटन प्रवर्द्धन गरिँदै

तनहुँमा ‘एग्रो कृषि टुरिजम क्षेत्र’ मार्फत पर्यटन प्रवर्द्धन गरिँदै


जिल्लाको व्यास नगरपालिका–१० ले आफ्नो वडामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कृषि एग्रो टुरिजम क्षेत्र’ बनाउने गरी निर्माण कार्य अघि बढाएको छ । 

देवीडाँडा पर्यटन प्रवर्द्धन विकास समिति र नारेश्व ताल पर्यटन प्रवर्द्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो टुरिजम क्षेत्र बनाउन लागेको हो । समुन्द्री सतहदेखि उचाइमा रहेको ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडा वनभोजस्थल दृश्यावलोकन खम्बा (भ्यूटावर) निर्माण गरेर फूलैफूलको बगैँचा बनाउने योजनाअनुरुप काम भइरहेको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । 

सो स्थानमा अहिले सार्वजनिक शौचालय र ट्रष्ट निर्माण गर्ने काम भइरहेको छ । उनले भने, “सो स्थानबाट सिधै फुड ट्रयाक बनाएर खहरेस्थित छाङ्गबाराही मन्दिर जोड्ने लक्ष्य रहेको छ ।” चालिस फिट अग्लो उचाइको भ्यूटावर निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) गरिसकिएको छ । टावर निर्माणका लागि व्यास नगरपालिकाले रु १५ लाख बजेट विनियोजन गरिसकेको वडाध्यक्ष सापकोटाले जानकारी दिए । 

व्यासमार्ग हुँदै पर्यटक छाङ्गबाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिंढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यूटावरबाट दृश्यावलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा होमस्टेमा पुगेर बास बस्ने व्यवस्था मिलाइने छ । भ्यूटावरबाट जिल्लाको अधिकांश भाग देख्न सकिन्छ । पहाडकी रानी नामले परिचित बन्दीपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायतका स्थानको अवलोकन गर्न सकिन्छ । 

नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हुँदै पृथ्वी राजमार्गमा पुगेर पर्यटक गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्रयाक बनाउने कालिका जङ्गलमा रिसोर्ट निर्माण गर्नेलगायतका संरचना निर्माण गरिनेछ । तालको भर्खर बल्ल सकिएको छ । उनले भने, “जग्गाको मुआब्जा, पर्यटन मन्त्रालय, विभाग र प्रदेश स्वीकृति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर ३५ दिने सूचना प्रकाशित, मुआब्जा यकीन गरी सार्वजनिक सूचना प्रकाशित गर्ने कार्य टुङ्गिएको छ ।” 

पच्चीस रोपनी पुर्जा र २० रोपनी ओइलेनी जग्गा गरी ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न लागिएको छ । व्यास नगरपालिकाको रु डेढ करोड र गण्डकी प्रदेशको रु एक करोड ३७ लाख विनियोजन भएको छ । तालको पानीलाई लिफ्टिङमार्फत सिँचाइ प्रबन्ध मिलाएर फलफूल तथा तरकारी बालीलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको छ । 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत व्यासमार्गदेखि देवीडाँडासम्मको करीब ३०० मिटर दूरीमा सिंढी र पर्खाल लगाउने कार्य भइरहेको छ । व्यास नगरपालिकाको रु तीन लाखको लागतमा सिंढी र करीब ५० मिटर पर्खाल लगाउने कार्य भइरहेको छ । दुम्सीमा हरियो दुबोमा दुम्सी चरिहेको प्राकृतिक किसिमको मूर्तिसमेत निर्माण गर्ने योजना रहेको बताइएको छ । नाउँअनुरुपको ठाउँको परिचित गर्दै पर्यटन प्रवरेद्धनका लागि जोड गरिएको वडाध्यक्ष सापकोटाले बताए । 

Logo