आहा रारा गोल्डकप : विधागत ट्रफी बेलायतबाट आउने

आहा रारा गोल्डकप : विधागत ट्रफी बेलायतबाट आउने


मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करणमा विधागत उत्कृष्ट खेलाडीहरुले प्राप्त गर्ने ट्रफी बेलायतबाट आउने भएको छ । आयोजक सहारा क्लब पोखराले हरेक खेलको म्यान अफ दी म्याचसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी बेलायतबाट आउने जनाएको छ ।

प्रतियोगितामा १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, अनुशासित टोली र उत्कृष्ट प्रशिक्षकलाई प्रदान गरिने आकर्षक ट्रफी बेलायतबाट आउनेछ ।

सहारा क्लब यूकेको सहयोगमा उक्त ट्रफी आउने भएको हो । त्यसगरी विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदान गरिने मेडल समेत बेलायतबाट आउनेछ । प्रतियोगिता चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने जनाएको छ ।

प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको टिकट शुल्क र पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन ।

गत वर्ष नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको थियो । गत वर्ष मनाङले १० लाख १ हजार प्राप्त गरेको थियो भने उपविजेता पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

प्रतियोगिता संञ्चालन गर्न अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ रहने बताइएको छ । प्रतियोगिता सञ्चालनबाट १ करोड ३० लाख १ हजार रुपैयाँ अनुमानित आम्दानी हुने सहरा क्लबले विश्वास गरेको छ । 

क्याराभान गोल्ड कपसहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत हुन आएको रकम आयोजक सहरा क्लबबाट संचालित सहरा फुटबल एकेडेमी संचालनमा खर्च गरिँदै आएको छ । हाल एकेडेमीको तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित रहेका छन् । क्लबले पोखरा १७ जिल्लामा २०७० सालदेखि बालकलाई आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षाका साथै फुटबल प्रशिक्षणसमेत गराउँदै आएको छ ।

Logo