‘बालुवा पेलेर तेल निस्कनु र ओली सुध्रनु उस्तै’: नेता नेपाल

‘बालुवा पेलेर तेल निस्कनु र ओली सुध्रनु उस्तै’: नेता नेपाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र प्रधानमन्त्री केपी ओली सुध्रनु एउटै भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित (नेकपा) प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताएका हुन् । कुनै बेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर प्रधानमन्त्री ओलीको राजीनामा सबैभन्दा पहिला नेता बामदेव गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरी प्रधानमन्त्रीलाई सुधार्न उनले नै कोसिस गरिरहेको तर आफूले कोसिस गर्न अनुरोध गरेको बताए । 

अध्यक्ष नेपालले अब प्रधानमन्त्री ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । बरु प्रधानमन्त्री विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । 

अहिले प्रतिनिधिसभा पुनःस्थापना भए पनि पुरै लडाइँ जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालको दाबी छ । केपी ओलीलाई पूर्व एमालेको कुनै माया नभएको उनले आरोप लगाए । प्रधानमन्त्रीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको उनकाे टिप्पणी छ । 

बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने प्रधानमन्त्री अहिले फुर्तिका साथ देशभर दौडिरहेको नेता नेपालको दाबी छ । यसबाट पार्टीप्रति प्रधानमन्त्री ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि उनको धारणा छ । 

Logo