कुटपिटका कारण सिरहामा २२ वर्षीय युवकको मृत्यु

कुटपिटका कारण सिरहामा २२ वर्षीय युवकको मृत्यु


कुटपिटपछि अस्पताल लाने क्रममा सिरहा नगरपालिका–१८ इटारीका २२ वर्षीय अजितकुमार यादवको गए राति मृत्यु भएको छ । 

आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले उनलाई निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारको दावी छ । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिए । 

आपसी विवादमा मुनेश्वरलगायतका व्यक्तिले निर्घात कुटपिट गरेको र त्यही कारणले मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले कुटपिटका कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव परीक्षणको लागि सिरहा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

Logo