प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नेबारे राजनीतिक दलका नेताहरुसँग परामर्श लिइने बताएका छन् ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित संसद बैठक कक्षको अवलोकनपछि आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बुधबारदेखि नै दलका नेताहरुसँग छलफल सुरु गर्ने बताएका हुन् । संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको उनले बताए । सत्तारुढ दलभित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भइरहेका बेला सभामुख सापकोटाले बैठकका एजेण्डाबारे दलहरुसग छलफल गर्ने बताएका हुन् । उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि प्रष्ट पारे ।
संसदको सातौँ अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजेको लागि आव्हान गरिएको छ । बैठकको लागि संघीय संसद सचिवालयले सरसफाई, व्यवस्थापन लगायत तयारीका काम पनि गरिरहेको छ ।
प्रतिक्रिया