भाईरल भिडियोले उब्जाएको मानवताको सवाल

(रामजी बलामी) 

गत साता सामाजिक सञ्जालमा लगातार दुई वटा भिडियो भाइरल भए । दुबै भिडियो मानवीयतासँग सम्बन्धित थियो । घटनाको दिन र प्रकृति फरक भएता पनि त्यसको सार भने एउटै देखियो, मानवता हराएको मानिस ।

घटना १

चैत्र १३ गते बिहान करिव १२ बजे एउटा यस्तो भिडियो रेकर्ड भयो । कुनै पनि मानिसले कल्पनासमेत गर्न नहुने कुकृत्य एक जना ट्याक्सी चालकले व्यवहारमै उतारे ।

बा १ ख ३८५१ नम्वरको ट्याक्सी चालक कमलबहादुर श्रेष्ठले हर्टअट्याकका बिरामी गोपाल कारञ्जितलाई घिसारीघिसारी सडकमै मिल्काएर भागे । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी अहिले प्रहरी हिरासतमा छन् भने आम सर्वसाधारण उनलाई धिक्कारीरहेका छन् ।

किनकी उनले बिरामीलाई अस्पताल लागिदिएको भए बिरामीको ज्यान जोगिन सक्थ्यो । यहाँनेर सबैको मानसपटलमा सल्बलाएको एउटै जिज्ञासा हो आखिर ट्याक्सी चालकले बिरामीलाई किन अस्पताल लगेनन् ?

उनले अस्पताल लगेर बिरामीको मृत्यु भएको भए उनीमाथि छानविन हुन्थ्यो । कारञ्जित हर्टअट्याकका बिरामी भएकाले त्यसैकारण मृत्यु भएको पुष्टी हुन्थ्यो, उनी फस्ने थिएन । बरु अस्पताल पुर्‍याएकोमा उनी धन्यावादका पात्र बन्ने थिए । अर्काे कुरा यदि उनले अस्पताल पुर्‍याएर बिरामीको ज्यान जोगिएको भए चालक श्रेष्ठ झनै धन्यावादका पात्र हुने थियो । बिरामीका परिवार उनीप्रति सदैव ऋणी हुने थिए ।

तर, चालक श्रेष्ठले बिरामीको मृत्यु भएमा आफू फस्ने डरले बिरामीलाई बचाउनभन्दा आफू जोगिनतिर लागे । त्यसैले उनले हर्टअट्याकबाट सिकिस्त बिरामीलाई घिसारीघिसारी ट्याक्सीबाट निकालेर सडकमा मिल्काई दिए । परिणामतः बिरामीको त मृत्यु भयो भयो, ट्याक्सी चालक समेत सामाजिक बहिस्कारमा परे । कानूनी कारवाही त प्रक्रियामै छन् ।

उनले बिरामीलाई ट्याक्सीबाट निकाल्दा त्यस आसपास केही मानिस पनि देखिन्छ । तर, उनीहरुले यो सबै गतिविधि देखेर पनि खासै वास्ता गरेको देखिएन । जब प्रहरीले उनलाई अस्पताल पुर्‍याए त्यतिबेलासम्म उनले संसार त्यागीसकेका थिए । यदि त्यहाँ रहेका स्थानीयमा अलिकति पनि मानवीयताको भाव उब्जिएको भए उनलाई तत्कालै अस्पताल लैजान सकिन्थ्यो ।

ट्याक्सी चालकलाई ठाउँको ठाउँ पक्रिन सकिन्थ्यो । यदि यो घटना युरोपियन मुलुक अथवा नेपालकै गाउँघरतिर भई दिएको भए ट्याक्सी चालकमा यो हिम्मत आउने नै थिएन । तर यहाँ चालक श्रेष्ठले मानवताहिन शहरको लाभ उठाउने हिम्मत गरे । र, एक जना बिरामीले अकालमा ज्यान गुमाउन पुगे ।

घटना २

हिजो (चैत १६ गते) बिहानै सामाजिक सञ्जालहरुमा एउटा भिडियो भाइरल बन्यो । सशत्र प्रहरीको बा १ झ १५२७ नम्बरको भ्यान ‘हान्ने गोरी’ झै हाँकिएको देखिन्छ । बाँयातर्फबाट ‘ओभरटेक’ गर्दै हुँइकिएको उक्त भ्यानले दाँयातर्फ रहेको स्कुटरलाई ठक्कर दियो । स्कुटर नराम्ररी भुँईमा बजारियो । भ्यानको पछाडि बसेका सुरक्षाकर्मीले स्कुटर बजारिएको छर्लंगै देखेका छन्। तर पनि भ्यान एकछिन पनि नरोकी त्यही गतिमा अघि बढ्यो ।

घटना गत शुक्रबार (चैत १५) गते साँझ पौने ६ बजेतिरको हो । उदयपुर त्रियुगा नगरपालिका ६ का सन्तोष कुँवर र उनकी श्रीमती अबिरा कार्की कुपण्डोलबाट तीनकुनेस्थितर डेरामा जाँदै थिए । सोही क्रममा नयाँ बानेश्वर पार गरेर संविधानसभा भवन नजिक पुगेपछि उक्त घटना भएको हो । संयोगवश उनीहरुको हातखुट्टामा सामान्य चोटपटक बाहेक केही भएन ।

पछि थाहा भयो उक्त भ्यान पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको रहेछ । प्रहरीका अनुसार यसरी भीआइपीको सुरक्षार्थ खटिएको सवारीसाधन बीच बाटोमा रोक्न मिल्दैन ।

चौतर्फी आलोचना भएपछि प्रहरीले दुबैलाई बोलाएर सहमति गरि छोडिएको छ । यदि त्यहाँ प्रहरीको गाडीको सट्टा सर्वसाधारणको गाडी भईदिएको भए पनि बिना कारवाही छोडिन्थ्यो ? के मानवता भन्दा भीआइपीको सुरक्षा ठूलो हो ? के भीआइपीको सवारी जहिले पनि ‘हान्ने गोरु’ जसरी नै कुद्नुपर्ने हो ?

स्मरण होस् । हालै सम्पन्न एशिया प्यासिफिक सम्मेलनमा आएका म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीको कारगेटमा खटिएको प्रहरीको मोटरसाइकल पनि ओभर स्पिडकै कारण कालीमाटीमा दुर्घटना भएको थियो । घटनामा प्रहरी सहायक निरिक्षक दीपेन्द्र गुरुङ घाइते भएका थिए । उनी लडेलगतै कारगेटमा सवार प्रहरी भ्यान र कारगेटकै अन्य मोटरसाइकल रोकेर उनलाई अस्पताल लगिएको थियो । भीआइपी सुरक्षार्थ खटिएको प्रहरी भ्यान सर्वसाधारणमा दुर्घटनामा पर्दा रोक्न नमिल्ने तर प्रहरी दुर्घटनामा परे रोक्न मिल्ने हो ?

भीआइपीको सवारीका लागि घण्टौसम्म सर्वसाधारणलाई रोक लगाउने प्रवृति त चलनचल्तीकै रुपमा स्थापित भईसकेको छ । यसको चौतर्फीरुपमा चर्काे विरोध भईरहँदा समेत कुनै पनि भीआइपीले सर्वसाधारणको गुनासोबारे एक शब्द बोलेको सुनिएको छैन ।

अन्य भीआइपीका सवारीसाधन र तिनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको सवारीसाधन प्रायः मापसेले मात्तिएको चालकले जसरी सवारी हाँक्छन् । यस्ता सवारीसाधन नजिक आएपछि सर्वसाधारणले जीव काम्दै आफू साइड लाग्नुको विकल्प रहन्न । जता पायो त्यता कुद्ने यस्ता गाडीहरु कतिबेला कता मोडिन्छ कुनै अत्तोपत्तो हुन्न । त्यसैले सर्वसाधारणले यस्ता गाडीहरुलाई साइड दिनु भन्दा आफ्नै लेनमा हिड्नु उपयुक्त हुन्छ ।

सवारी चालकका समस्या

भीआइपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको मात्रै भन्दा पनि विभिन्न कार्यालयका सवारी चालकहरुको प्रसंग उल्लेख गर्नु उपयुक्त हुन्छ । यस्ता सवारी चालकहरु केवल आज्ञाकारी मात्रै हुन् । उनीहरु हाकिमको इशारामा चल्छन् । इशाराभन्दा अलिकति पनि तलमाथि भए जागीर नै धरापमा पर्छ । त्यसकारण पनि उनीहरु प्रायः मानसिक तनावमा हुन्छन् ।

‘कुनै पनि कर्मचारीलाई दवाव दिनु हुँदैन, अझ सवारी चालकलाई त दवाव दिने कुरै हुँदैन’ भन्ने गरिन्छ । तर नेपालमा सरकारी, संस्थान र सुरक्षा निकायमा कार्यारत सवारी चालकहरु अधिक मात्रामा दवाव खेपिरहेका हुन्छन् । उनीहरुका तुलनामा निजी क्षेत्रमा कार्यारत सवारी चालकहरु कम प्रेशर महशुस गर्छन् ।

यस्तो सवारी चालकहरुका लागि परिवारसँग खाना खाने समय जुर्नु त संयोग नै हो । हाकिमको श्रीमतीको सपिङदेखि बालबच्चालाई विद्यालय आउजाउ समेत उनीहरुकै जिम्मामा हुन्छ । मध्यरातको रक्सी पार्टीमा रमाएका हाकिमलाई कुरेर गाडीमा निदाउनु उनीहरुको रुटिन जस्तै हुन्छ । आफू खान/रमाउन पाएपछि चालकको भोक प्यास वास्तै नगर्ने र उल्टै कराउने हेप्ने हाकिमहरुका कारण कयौ दुर्घटनाहरु भईरहेका छन् ।

घटना भएपछि प्रत्यक्षरुपमा चालक दोषि देखिन्छन् । तर, त्यसका पछाडि अन्य व्यक्तिहरुको ठूलो हात हुन्छ । बानेश्वरको घटना पनि माथिको दबाबले नै मुख्य भूमिका खेलेको देखिन्छ । यदि भीआइपीको सवारी विस्तारै गुडेको भए सुरक्षाकर्मीको सवारी पनि विस्तारै नै गुड्थ्यो । बिस्तारै गुड्दा दुर्घटनाको सम्भावना कम हुन्थ्यो । दुर्घटना भई हाले पनि गाडी रोकेर उद्धारमा लाग्ने थियो ।

तर, हृदय जतिसुकै स्वच्छ होस् ‘माथिको आदेश’को अगाडि उनीहरुले केही गर्न सक्दैनन् । मानवीयता त ‘खोया’ सावित हुन्छ भने अरु कुरा सम्भव हुने कुरै भएन । जोसुकै मरुन्, जेसुकै होउन उनीहरुले चाहेर पनि केही गर्न मिल्दैन ।

यि त भए गलत मानसिकताले भरिएका ‘बोस’का चालकहरुको व्यथा । तर सबै उस्तै हुँदैनन् । कतिपय ‘बोस’हरु सवारी चालकलाई परिवारकै सदस्य ठानेर साथ, सहयोग र माया दिनेहरु पनि छन् । बाटोमा हिड्दा पीडित सर्वसाधारणलाई साथ सहयोग गर्नेहरु पनि छन् । कतिपय भीआइपीहरुले पनि सुत्केरी उद्धार गरेका, दुर्घटनास्थलमा उद्धारमा खटिएको, अलपत्र यात्रुहरुलाई लिफ्ट दिएर सहयोग गरेको जस्ता समाचारहरु समय समयमा सार्वजनिक पनि भईरहेका छन् ।

मानवता हराएको समाज

आखिर जे होस् । धन सम्पत्ती, मान मर्यादा, पद प्रतिष्ठा भन्दा पहिले हामी मान्छे हौ । मान्छेको पहिलो गुण हो मानवीयता । त्यसपछि मात्रै आउँछ धन सम्पत्ती, मान मर्यादा, पद प्रतिष्ठा आदि इत्यादि ।

कोहीसँग अलिकति पनि मानवता छैन भने उनी नाम मात्रैको मान्छे हो । जो यस धर्तीका लागि खासै आवश्यक व्यक्ति होईनन् । बोलीचालीकै भाषामा भन्ने हो भने मानवताहिन व्यक्ति ‘धर्तीकै लागि बोझ’ मात्रै हुन् । तिनको गतिविधिले सिंगो समाज र राष्ट्रका लागि घात मात्रै हुन्छ ।

तिनले गर्ने देखावती साथ सहयोग पनि स्वार्थलिप्त हुन्छन् । हजारौसँग करोडौ ठग्ने अनि समाजमा हजार चन्दा दिएर समाजसेवी भई टोपल्नेहरु पनि यसै ‘क्याटागोरी’मा पर्छन् । दुर्घटनामा घाइतेको उद्धार गर्ने भन्दा ब्याग, पर्स, गरगहना र मोबाइल खोज्नेहरु, सुपारी लिएर इमान्दार मान्छेको ज्यान लिनेहरुलाई कसरी मानिस भन्ने ?

भुइमा झरेको कागलाई छोएर हेर्नुहोस् त एकपटक । तिनका साथीहरुले तपाईलाई पिछा गरि गरि ठुंग्छन्  । एउटा बाँदर मर्न लाग्यो भने हुलका हुल बाँदरसँगै आएर बस्छन् । एउटा भंगेरो मर्न लाग्यो भने परेवादेखि काग समेत आएर कराउँछन् । एउटा कुकुर मर्न लाग्यो भने अर्काे कुकुरले साथ छोड्दैन । एउटा गाई मर्न लाग्यो भने अरु गाइगोरुले धुरुधुरु आँसु बगाउँछन् ।

तर हामी त मान्छे । घाइतेको उद्धारमा लाग्नुभन्दा आफ्नो दुनो सोझ्याउनमा लाग्छौ । आँखै अगाडि देखेको गल्तीलाई गल्ती भन्न सक्दैनौ । किनकी हामीलाई आफू जोगिनु छ । पशुपँक्षीहरु एकले अर्काेलाई सहयोग गर्न सक्दैनन् तर ‘हामी’ भन्ने भाव हृदयदेखि जगाउँछन् तर मान्छे मज्जाले एकले अर्काेलाई सहयोग गर्न सक्छौ तर शुरुमा ‘म’ भन्ने भाव उब्जाउँछौ । ‘म फस्ने पो हो कि’ भन्ने डरले एउटा मान्छेले अर्काे मान्छेलाई सहयोग गर्न हिच्किचाउँछन् ।

तर, भन्नैपर्छ यही समाजमा कतिपय महामानवहरु पनि छन् जो आफूसँगै अरुलाई पनि बचाउन मरिहत्ते गर्छन् । तर बिडम्बना उनीहरु  औँलामा सिमित छन् ।