कोभिडले फेरियो अभिनय यात्रा, म्युजिक भिडियोमा व्यस्त महानायक हमाल

कोभिडले फेरियो अभिनय यात्रा, म्युजिक भिडियोमा व्यस्त महानायक हमाल


कोभिड–१९ महामारीका कारण ठूला चलचित्रमा काम नपाउँदा फुर्सदिला बनेका कलाकार धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन्। पछिल्लो समय यो सूचीमा नेपाली चलचित्रका महानायक राजेश हमालको नाम जोडिन पुगेको छ। त्यसो त उनी अचेल म्युजिक भिडियोमै अति व्यस्त हुने गरेका छन्। 

कोरोना भाइरस महामारीपछि नेपाली चलचित्र उद्योगमा देखापरेको संकटपछि उनले म्युजिक भिडियोमा अभिनय सुरु गरेका हुन्। लकडाउनपछि ठूला चलचित्रमा ब्रेक लागेपछि उनका लागि म्युजिक भिडियोको यात्रा जुरेको हो।

लकडाउनपछि हमालले मालिङ्गो, वरको छाँयाले, यादका लहरहरू, मन्जरी, ज्यानै फाल्नु पहिले लगायत एक दर्जन म्युजिक भिडियो दर्शकमाझ पस्किसकेका छन्। राजेशले भर्खरैमात्र   नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। 

प्रायः माया पिरती र रोमान्टिक भिडियोमा देखा पर्ने महानायक यसपालि भने अलि भिन्न शैलीको भिडियोमा देखापरेका छन् । एक दशकअघि महानायक राजेश हमाल अभिनित निकै सफल चलचित्र साथीको टाइटलमा बनेको म्युजिक भिडियो ‘साथी’मा फेरि महानायकले अभिनय गरेका छन्।  यसपटक भने उनका साथीका रूपमा बालगायक प्रसुनजंग पोखरेललाई फिचर गरिएको छ। 

गीतमा चर्चित गायक टंक बुढाथोकीको शब्द संगीत तथा  उनीसँगै डिएसए स्टार २०१९ का विजेता प्रसुनजंग पोखरेलको स्वर रहेको छ। कालिञ्चोकको मनोरम दृश्य समेटिएको गीतमा महानायक हमालले को हो तिम्रो साथी? भन्दै प्रश्न गर्छन् भने अभिनयसमेत गरेका गायक प्रसुनले प्रतिउत्तरमा ‘मेरो आमाबुवा मेरो साथी’ भन्ने उत्तर दिन्छन । समष्टिगत रुपमा एउटा सन्तानको आमाबाबुप्रति कस्तो सोच हुनुपर्छ भन्ने गीतमा देखाइएको छ।

परिवर्तन इभेन्ट हाउसको प्रस्तुति रहेको भिडियोलाई राज बराइलीले निर्देशन गरेका छन् भने गीतमा गायक तथा संगीतकार टंक बुढाथोकी तथा सञ्जीव सुब्बाको एरेन्ज रहेको छ।

गीतको भिडियो गायक टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Logo