सन्दर्भ मार्च ८ : औपचारिकतामा सीमित नहोस् नारी दिवस

सन्दर्भ मार्च ८ : औपचारिकतामा सीमित नहोस् नारी दिवस


विगत वर्षहरुमा पनि नेपालमा नारी दिवस मनाइए। तर, उपलब्धि के भए कसैले खोजी गरेनन्। आगामी वर्षहरुमा पनि यस्ता दिवसहरु मनाइएला, तर यसरी नै उपलब्धितिर ध्यान नदिने हो भने ती फगत वार्षिक कर्मकाण्ड पुरा गरे जस्तै नहोला भन्न सकिँदैन।

 अन्तर्राष्ट्रियस्तरमै नारी दिवस मनाउन थालिएको पनि १ सय ११ वर्ष भइसकेको छ। विश्वका विभिन्न राष्ट्रहरुले झैं पछिल्ला वर्षहरुमा नेपालले पनि नारी दिवस मनाउन थालेको धेरै भइसक्यो। ८ मार्चलाई नारी दिवसका रुपमा विश्वले मनाउन थालेको प्रायः सबैलाई थाहा छ। यस दिन सबै जसो संघसंस्था, व्यक्ति तथा देशका उच्च ओहदामा आशिन व्यक्तित्वहरुले नारीहरुलाई शुभकामना दिने गरेका छन्। मानौं पछिल्ला दिनहरुमा यो फेशन नै भइसकेको छ । 

आज ८ मार्च ,अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। यस दिनलाई विश्वभर नारी दिवस भनेर मनाइन्छ। राजनीतिक तवरबाट सुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि अन्तर्राष्ट्रिय महिला दिवसका विषय हुने गरेका छन्।

यो दिवस सर्वप्रथम सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो। सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो। सन् २०२१ मा आइपुग्दा विश्वभर १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ।

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोसलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ का दिन महिला दिवस मनायो।

यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताधिकार दिनु थियो, त्यस समय महिलालाई मत दिने अधिकार कतिपय देशहरुमा थिएन।

सन् १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छाडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो ।

हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाइँदैन ।

हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाइँदैन । यद्यपि, महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ। आज विभिन्न संघसंस्थाले महिला दिवस मनाइरहेका छन्।

विश्वले झैं नेपालले पनि यस वर्षको नारी दिवस मनाइरहेको छ। यो दिवसलाई  निरन्तरता दिनु राम्रै कुरा हो। तर, पछिल्ला दिनहरुमा नेपालमा महिलाहरुमाथि भइरहेका र हुने गरेका शारीरिक, मानसिक तथा घरेलु हिंसालाई केलाउने हो भने यहाँका नारीले यो दिनलाई केवल दिवसको रुपमा मात्र मनाउँदै आएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। कतै दाइजोको निहुँमा महिलालाई यातना दिइएको छ त कतै परिवारले भने जसरी बिहे गर्न नमानेको भन्दै परिवारबाटै जिउँदै जलाईएका घटनाहरु हामीले सुन्दै आएका छौं। 

पाँचवर्ष अघि प्रेम प्रस्ताव नमानेको भन्दै राजधानीमै दुई युवतीलाई एसिड खन्याएर युवकहरु फरार भएको यथार्थ हामी सामु ताजै छ । अझ अचम्मको कुरा त आफ्नै बाबु तथा हजुरबा नाता पर्नेहरुले छोरी तथा नातिनीहरुलाई बलात्कार गर्ने गरेको जस्ता सोच्नै नसक्ने खालका विषयहरु सुन्नु पर्दा नेपाल जस्तो देशमा महिलाहरुले के भविष्यको कल्पना गर्न सक्लान् जस्तो आभास हामी सबैमा हुने गरेको छ ।  

हिजोआज यस्ता घटनाहरु नसुनिएको कुनै दिन नै छैन भन्दा पनि हुन्छ। यो हाम्रो लागि त नराम्रो कुरा हो नै अझ विश्वमै पनि नेपालको बदनाम गर्ने विषय पनि हो।

महिलाहरु बलात्कार हुनु, विभिन्न बहानामा उनीहरुको हत्या हुनु तथा परापूर्वकाल देखिकै मान्यताका रुपमा उनीहरुलाई समाजले अर्कै दर्जाको नागरिकका रुपमा हेर्नु जस्ता विषयहरु आधुनिक समयको समाजका लागि परिवर्तनको बाधक मात्र होइनन् कलंक पनि हुन् । यहाँ पुरुषले महिलाहरुलाई दबाएर राख्नुलाई अहिले पनि सामान्यरुपमै लिनु पर्ने अवस्था एकातिर छ भने अर्कातिर महिलाले पनि महिलालाई नै सताएर विभिन्न लान्छना लगाइने गरिएको पनि हामीले देखे सुनेकै छौं । यो पक्कै पनि राम्रो कुरा होइन।

 एकातिर हामी आधुनिक र परिवर्तित देशको परिकल्पना गरिरहेका छौं भने अर्कातिर पुरातनवादी संस्कृतिको जगेर्ना गर्ने परिपाटीको पनि पछि दगुर्दै छौं । यसले अहिलेको यूवा जमातलाई कतातिर लाग्ने भन्ने भ्रम पनि सिर्जना गरिरहेको छ । पूराना कुरालाई मान्नुलाई नराम्रो भन्न खोजिएको होइन । बरु पुराना विषय भित्र रहेका विकृतिहरुलाई हटाएर आवश्यक कुराहरुलाई मात्र अहिलेको पुस्ताले अवलम्बन गर्नुपर्ने टड्कारो आवश्यकतालाई औंल्याइएको भने पक्कै पनि अनुमान लगाउन सकिन्छ ।

विगत केही महिनादेखि विभिन्न संघसंस्थासँग आबद्ध महिलाहरुले महिलाहरुमाथि हुने गरेका अपहरण, बलात्कार, हत्या तथा शारीरिक र मानसिक हिंसालाई पूर्णरुपमा अन्त्य हुनुपर्ने मागसहित विभिन्न मन्त्रालय र संस्थाहरु धाइरहेका छन् । सम्पूर्ण देशभरिका महिला यस्ता समस्याबाट पीडित हुँदै आइरहेका भएपनि माग राखेर मन्त्रालय धाउने महिलाहरुको संख्या एकदमै न्युन रहेको देखिन्छ । हुन त सबै महिलाहरु मन्त्रालय जान सम्भव पनि छैन, भन्न खोजिएको कुरा यो हो कि जहाँका महिला पीडित भएका छन् त्यहाँ पनि उनीहरुले आवाज उठाएका छैनन् । बरु यस्ता हिंसाहरुलाई दबाएरै लुकाएर राख्ने गरेका छन् । यसले हिंसा गर्नेहरुलाई अझ प्रशय दिइरहेको देखिन्छ । 

त्यति मात्र होइन, खुलेआमरुपमा हिडेका महिला हिंश्रकहरुलाई राज्यले पनि कारवाहीको दायरामा ल्याउन सकेको देखिँदैन । महिनौंदेखि आवाज उठाइरहे पनि उनीहरुको आवाजलाई सरकारले सुन्दै सुनेको छैन । राज्यले नै सुन्दैन भने अरुले त यसमा चासो राख्ने कुरा पनि भएन । अनि राज्यले वर्षभरि अनेक बाहानामा यातना पाइरहेका महिलाहरुलाई एक दिन शुभकामना दिनुको के अर्थ रहन्छ र ? अब उनीहरुलाई शुभकामना होइन, वास्तवमै न्याय र इमान्दारिताको वकालत गर्ने सरकारको खाँचो छ । सबै तहबाट विशेषरुपमा प्राथमिकतामा राख्ने हो भने एकदिन हामीले सोचेको जस्तो समाज र देशको निर्माण गर्न सकिएला तर यो दिनको अझ लामो प्रतिक्षा गर्नुपर्ने तितो यथार्थ हामीले बुझेकै छौं । 

हामी नारामा महिलाहरुलाई सबैले हेपिएको र दबाइएको कुरा गर्छौं । तर यति सोच्दैनौं कि मैले पनि महिलाहरुलाई कुनै बहानामा हिंसामा पारेको त छैन ? यस्ता कुरामा आफ्नो घरभित्रै महिलाहरुलाई बन्देज गर्नेहरु पनि छन् । यस्ता मान्छेहरुले महिलाहरुको पक्षमा वकालत गर्न खोज्नु हाँस्यास्पद छ तर पनि सबैलाई चेतना जगाउन प्रयास गर्नु आफैंमा एउटा राम्रो कामको सुरुआत भने पक्कै पनि हुन सक्छ । 

कुनै पनि दिवस मनाउने मात्र होइन त्यो दिवस मनाएपछि के उपलब्धि हासिल भयो भन्ने तिर लाग्नु पनि आवश्यक छ । यो हाम्रो कर्तव्य पनि हो । दिवस त वर्षैपिच्छे मनाएकै थियौं । अब पनि मनाउँला तर  दिवसलाई दिवसको रुपमा मात्र नभएर सार्थक र उपलब्धिमूलक बनाउन सक्यौं भने प्रत्येक वर्ष मनाउने नारी दिवस जस्तै अन्य दिवसको पनि महत्व झल्केला ! जबसम्म महिलाहरुमा हुने विभिन्न बहानाका हिंसाहरुमा कमी आउँदैन, तबसम्म एकदिन दिवस मनाउनुको पनि औचित्य छैन।  यस वर्षको नारी दिवस पनि नाम मात्रकै जस्तो नहोस् , उपलब्धीमुलक पनि होस्। शुभकामना छ।

Logo