लामो समयपछि बलिउड फर्किएका अभिनेत्रीहरु

लामो समयपछि बलिउड फर्किएका अभिनेत्रीहरु


बलिउड अभिनेत्री उर्मिला मातोंडकर १२ बर्ष पछि बलिउडमा फर्कने तयारीमा छिन् । आफू छिट्टै नयाँ फिल्ममा देखापर्ने उनी आफैंले उद्घोष गरेकी हुन् । त्यतिमात्र नभई उर्मिलाले आफुलाई अब वेब शोमा पनि देख्न सकिने सामाजिक संजालमार्फत खुलाएकी छिन् । उर्मिला अन्तिमपटक सन् २०१८ मा रिलीज भएको इरफान खान स्टारर चलचित्र ‘ब्ल्याकमेल’ मा देखिएकी थिईन् ।

उक्त चलचित्रमा उर्मिलाले ‘बेवफा ब्यूटी’ बोलको गीतमा आईटम डान्स गरेकी थिईन् । बलिउडमा मुख्य अभिनेत्रीको रुपमा भने उर्मिला मातोंडकरको अन्तिम चलचित्र ‘ईएमआई’ रहेको थियो । जुन चलचित्र सन् २००८ मा रिलीज भएको थियो । उर्मिला जस्तै अन्य धेरै बलिउड अभिनेत्रीहरू छन्, जसले वर्षौंको अन्तराल पछि फेरी बलिउडमा कमब्याक गरेका थिए । प्रस्तुत छ तिनै अभिनेत्रीहरुको रिपोर्ट । 

१) श्रीदेवी

बलिउडको लेडी सुपरस्टार भनेर परिचित श्रीदेवीले १९९६ मा बोनी कपूरसँग विवाह गरेपछि चलचित्र क्षेत्रलाई बिदाइ गरेकी थिइन् । विवाह पश्चात श्रीदेवीले आफ्नो सम्पूर्ण समय आफ्ना छोरीहरू जान्हवी र खुशीलाई हुर्काउन खर्चिएकी थिइन् । तर सन् २०१२ मा १६ बर्षपछि श्रीदेवीले चलचित्र ‘ईङ्लिश विङ्लिश’बाट कमव्याक गरेकी थिईन् । उनको चलचित्र हिट भयो र श्रीदेवीको कमव्याक सफल भयो ।

श्रीदेवीले फेब्रुरुअरी २०१८ मा यस संसारलाई छाडेर बिदा भइन् । उनको निधन हुनुभन्दा अघि उनी चलचित्र ‘मम’मा देखा परेकी थिईन् । जसको लागि उनलाई ‘मरणोपरान्त सर्वश्रेष्ठ अभिनेत्री’को सम्मानले राष्ट्रिय पुरस्कारमार्फत विभुषित समेत गरियो । उनको मृत्युपछि उनको अन्तिम फिल्म ‘जिरो’ रिलीज भएको थियो ।

२) काजोल

सन् १९९१ मा बलिउड अभिनेता अजय देवगनसँग विवाह गरेपछि काजोलले चलचित्रमा काम गर्न निकै कम गरेकी थिईन् । लामो समयसम्म उनी मुस्किलले एक/दुईवटा सानोतिनो रोलहरुमा देखिइन् । तर सन् २००६ मा उनले फिल्म ‘फन्ना’ बाट बलिउडमा पुनः लिड रोलमा अभिनय गरिन् । उक्त चलचित्रमा काजोलको अपोजिटमा आमिर खान थिए र फिल्म निकै हिट भएको थियो । कमब्याकपछि काजोलले ‘माई नेम ईज खान’, ‘वी आर फैमिली’, ‘दिलवाले’, ‘तान्हाजीः द अनसंग वारियर’ जस्ता ठूला चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् । 

३) रानी मुखर्जी

सन् २०१४ मा ‘मर्दानी’ फिल्ममा काम गरेपछि रानी मुखर्जीले पनि बलिउडबाट करिब ४ बर्षको ब्रेक लिएकी थिइन् । पछि उनले सन् २०१८ मा फिल्म ‘हिचकी’ बाट पुनः कमव्याक गरिन् । जुन त्यति सफल हुन सकेन । त्यसपछि रानी ‘मर्दानी–२’ मा देखा परिन् । अब उनको फिल्म ‘बन्टी और बबली २’ २०२१ मा रिलीज हुनेछ ।

४) जुही चावला

९० को दशककी सुपरहिट नायिका जुही चावलाले पनि विवाहपछि फिल्ममा काम गर्न छाडिसकेकी थिईन् । विवाहपछि धेरै फिल्म र विज्ञापनहरूमा सानासाना भूमिका निभाउँदै आएकी जुहिले सन् २०१३ मा ‘गुलाब ग्यांग’ फिल्ममा नायिकाको रूपमा कमब्याक गरिन् । जूही यस फिल्मबाट बेस्ट सपोर्टिङ एक्ट्रेस अवार्डका लागि मनोनित समेत भएकी थिइन् ।

५) माधुरी दीक्षित

सन् २००२ मा ‘देवदास’ फिल्ममा काम गरेपछि माधुरीले बलिउडबाट विश्राम लिएकी थिईन् । त्यसपछि उनी ५ वर्ष पछि २००७ मा ‘आजा नचले’ फिल्मबाट कमव्याक गरिन् । जुन सुपरफ्लप साबित भयो । यसपछि माधुरी ७ बर्षको लागि फेरि फिल्मबाट टाढा भईन् र सन् २०१३ मा फिल्म ‘देढ इश्किया’ को माध्यमबाट ठूलो पर्दामा फर्किइन् । यस पश्चात उनले बकेट लिस्ट, टोटल धमाल, कलंक लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

एजेन्सीबाट

Logo