मन्त्रिपरिषदको ३ निर्णय, सवारी उपभोग कर बढ्ने

सरकारले गत विहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ।

 निर्णय  अनुसार सरकारले सवारी उपभोग कर बढाउने  भएको छ। सवारी साधनहरुको सडक उपभोग दस्तुरमा वृद्धि गरी यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

उनका अनुसार बैठकले सार्वजनिक सेवामा हड्ताल निषेध गरेको छ। ‘सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’, मन्त्री बाँस्कोटाले भने।

बैठकले युनाइटेड सिमेन्टस् प्रालिको नौबिसेस्थित सिमेन्ट कारखानास्थल सम्म जाने आउने औद्योगिक पहुँचमार्ग सडकमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धादिङ जिल्लाको धुनिवेशी नगरपालिका ९  मा रहेको पोखरीडाँडा सामुदायिक वनको कुन ०.१७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ।

मन्त्री बास्कोटाले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको खाने, बस्ने, औषधिउपचार गर्नेलगायतका व्यवस्था गरिएको पनि बताए। मन्त्री बास्कोटाले हुरी पीडितको धनमालको क्षतिको एकीन विवरण आएपछि पुनःस्थापना र पुनर्वासका आवश्यक व्यवस्था सरकारले मिलाउने पनि स्पष्ट पारे।

यी हुन् ३ निर्णय 

१. सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ।

२. सवारी साधनहरूको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपर्युक्त बमोजिमको सडक उपभोग दस्तुर सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ।

३. यूनाइटेड सिमेन्टस् प्रा.लि.को नौबिसेस्थित सिमेण्ट कारखानास्थलसम्म जाने आउने औद्योगिक पहुँचमार्ग सडकमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धादिङ जिल्लाको धुनिबेशी नगरपालिका-९ मा रहेको पोखरीडाँडा सामुदायिक वनको कूलजम्मा ०.१७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ ।