‘राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न अझै बाँकी छ’: प्रचण्ड

‘राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न अझै बाँकी छ’: प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताएका छन्।

बिहीबार सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेका कारण आफू चिन्तित र आक्रोशित भएको बताएका छन् । उनले राष्ट्रिय स्वाधिनताको लडाईँ पूर्ण नभएकाले स्वाधिनताको लडाईं लड्न बाँकि रहेको बताए। उनले भने,–‘यो प्रतिक्रियावादी देशी विदेशीहरुले नेपालको राष्ट्रिय स्वाधिनतालाई, नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई फेरि एकचोटी जर्बजस्ती कुल्चिने दुस्साहस भइराखेको छ । म चिन्तित छु । म आक्रोशित पनि छु । म आफैँ आन्दोलित पनि छु । साथीहरु बिचार गर्नुहोला । हामीले राजनीतिक हिसाबले सामन्ती तन्त्रमाथि विजय हासिल गरेकै हो। तर राष्ट्रिय स्वाधिनताको लडाइँ पूर्ण भएको छैन । हामीले अझै लड्न बाँकी छ भनेको त्यहीँनिर हो।’

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको उपलब्धी र प्रचण्डलाई निस्तेज पार्नमा प्रतिक्रियावादीले ध्यान केन्द्रीत गरेको बताए। आफूभित्र आवेग र आक्रोश रहेको भन्दै प्रचण्डले नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई बिद्रोह गर्ने अधिकार हुने चेतावनी समेत दिए। 

नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । प्रतिक्रियावादीले नेपालले प्राप्त गरेको उपलब्धीलाई निमोठ्ने र नेपाललाई कब्जामा राख्न सोचे हालसम्मका आन्दोलनबाट प्राप्त जागरणलाई केन्द्रीत गरेर कलरफूल रिभुलुसनमा लगि षडयन्त्रलाई चकनाचुर पार्न सकिने पनि अध्यक्ष प्रचण्डले बताए।

Logo